1
तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्तो भयो । आकाश खोलियो र मैले परमेश्वरका दर्शनहरू देखेँ ।2 त्यस महिनाको पाँचौँ दिनमा - यहोयाकीन राजा निर्वासित भएको यो पाँचौँ वर्ष थियो -3 कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो, र त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो ।4 तब मैले हेरेँ, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्यसको वरिपरि र भित्र चहकिलो उज्यालो थियो, र त्यस आगोको माझ जल्दो पहेँलो धातुझैँ थियो ।5 माझमा चार जीवित प्राणीहरू जस्ता थिए । तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूप जस्ता थिए,6 तर तिनीहरू हरेकका चार वटा मुहार थिए, र हरेकका प्राणीका चार वटा पखेटा थिए ।7 तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुर जस्ता थिए जो टल्काइराखेका काँसा जस्तै टल्कन्थे ।8 तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः9 एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिँड्थ्यो ।10 तिनीहरूका मुहार मानिसको झैँ थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिँ गोरुको जस्तो थियो । ती चारै वटाको चीलको जस्तो अनुहार पनि थियो ।11 तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिँ बाहिर मास्तिर फैलिएका थिए । हरेकका दुई वटा पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुई वटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए ।12 तिनीहरू हरेक सोझै हिँड्थे, ताकि आत्माले जता-जता लग्यो तिनीहरू त्यतै जान्थे, तिनीहरू यताउता नफर्की हिँड्थे ।13 ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्ग्रो जस्तो, राँकोहरू जस्ता थिए । ती प्राणीहरूको बीचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्यहाँ बिजुलीका चमकहरू थिए ।14 ती जीवित प्राणीहरू तीव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमक जस्ता देखिन्थे ।15 तब मैले ती जीवित प्राणीहरूलाई हेरेँ र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्ग्रा देखेँ ।16 ती पाङ्ग्राहरूका आकार र बनावट यस्ता थिएः हरेक पाङ्ग्रा पीतमणि जस्तै थिए, र ती चारै वटा उस्तै किसिमका थिए । एउटा पाङ्ग्रो अर्को पाङ्ग्रोमा खप्टिएको जस्तै थियो ।17 जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिँड्थे ।18 तिनीहरूका घेरा अग्ला र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।19 जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्ग्राहरू पनि साथसाथै हिँड्थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि उठ्थे ।20 आत्मा जता जानुहुन्थ्यो तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा तिनै पाङ्ग्रामा थिए ।21 जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्थे । ती प्राणीहरू जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्रामा नै थिए ।22 ती जीवित प्राणीहरूका शिरको मास्तिर विशाल अर्ध गोलाकार क्षेत्र जस्तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैँ देखिन्थ्यो ।23 त्यो विशाल अर्धगोलाकार क्षेत्र मुन्तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थ्यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्ने एक जोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्ने जोडी थियो ।24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनेँ । त्यो आवाज धेरै पानीको हल्ला जस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्को आवाज जस्तो हुन्थ्यो । आँधीको वर्षा जस्तो थियो । सेनाको आवाज जस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्थे, तब तिनीहरूले आफ्ना पखेटा तल झार्थे ।25 जब तिनीहरू ठिङ्ग उभिए र आफ्ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासन जस्तो थियो जुन हेर्दा त्यो नीलमणि जस्तै देखिन्थ्यो, र त्यो सिंहासन जस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो ।27 मैले उहाँको कम्मरदेखि मास्तिर जल्दो धातु जस्तै भएको एउटा आकृति देखेँ । उहाँको कम्मरदेखि मुन्तिरको आकृति पनि आगो जस्तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्यालोले घेरिराखेको थियो ।28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्द्रेनीको आकारझैँ उज्ज्वल थियो । त्यो परमप्रभुका महिमासँग मिल्दो देखिन्थ्यो । जब मैले त्यो देखेँ तब म घोप्टो परेँ, र एउटा बोलिरहेको आवाज मैले सुनेँ ।