2
उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, आफ्ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।"2 तब उहाँ मसित बोल्नुहुँदा, मभित्र आत्मा प्रवेश गर्नुभयो र मलाई आफ्ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनेँ ।3 उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ - तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्मै मेरो विरुद्धमा पाप गरेका छन् ।4 तिनका सन्‍तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैँले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।'5 तिनीहरूले कि त सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बीचमा एक जना अगमवक्ता छन् भनी जान्‍नेछन् ।6 ए मानिसको छोरो, तँचाहिँ तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडीहरू र काँढाहरूसँग भए, अथवा तँ बिच्‍छीहरूका बीचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन् ।7 तर तिनीहरूले सुनून् वा नसुनून् तिनीहरूलाई मेरो वचन तैँले बोल्नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् ।8 तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्‍यो विद्रोही घरानाझैँ तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्‍यो खा !9 तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।10 उहाँले त्‍यसलाई मेरै सामु फिँजाउनुभयो । त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।