3
उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, तैँले जे पाएको छस् त्‍यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।"2 यसैले मैले आफ्नो मुख खोलेँ, र उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो ।3 उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, मैले तँलाई दिएको त्‍यो मुट्ठो खा र यसले तेरो पेट भर ।" यसैले मैले त्‍यो खाएँ, र त्‍यो मेरो मुखमा महझैँ गुलियो थियो ।4 तब उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन् ।5 किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ -6 अनौठो बोली र कठिन भाषा बोल्ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैँले बुझ्दैनस् । मैले तँलाई त्‍यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍ने थिए ।7 तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन् ।8 हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहार जस्‍तै हठी र तेरो निधारलाई तिनीहरूको निधार जस्‍तै कठोर तुल्याएको छु ।9 मैले तेरो निधारलाई दर्शनढुङ्‌गा भन्‍दा कडा एउटा हिरा जस्‍तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।"10 अनि उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा - ती आफ्नो मनमा राख् र ती आफ्ना कानले सुन् ।11 त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ' ।"12 तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठूलो भूकम्पको आवाज सुनेँः "परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्‍यको होस् !"13 त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो, र एउटा ठूलो भूकम्पको आवाज थियो ।14 आत्माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्नो आत्माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।15 तब म कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्‍यहाँ सात दिनसम्म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर म बसेँ ।16 तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,17 "ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्याएको छु, यसैले मेरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेतावनी दे ।18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैँले त्‍यसलाई चेतावनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसलाई सल्लाह दिइनस् भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु ।19 तर तैँले त्‍यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्‍यो आफ्नो दुष्‍ट्‌याइँ अथवा आफ्नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्नो पापको कारण मर्नेछ, तर तैँले चाहिँ आफ्नो प्राण बचाएको हुनेछस् ।20 धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्‌याइँ गर्छ, र त्‍यसको लागि ठक्कर खाने ढुङ्‌गो मैले राखेँ भने त्‍यो मर्नेछ । तैँले त्‍यसलाई चेतावनी नदिएको हुनाले त्‍यो आफ्नै पापमा मर्नेछ, र त्‍यसले गरेका धार्मिक कामहरूको सम्झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।21 तर त्‍यस धर्मी मानिसलाई पाप नगर् भनी तैँले चेतावनी दिइस् जसले गर्दा त्‍यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ । अनि तैँले आफ्नो प्राण बचाएको हुनेछस् ।"22 यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्यो र उहाँले मलाई भन्‍नुभयो, "उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित बोल्नेछु !"23 म उठेँ र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो । यसैले म घोप्‍टो परेँ ।24 आत्मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्याउनुभयो; र उहाँले मसित बोल्नुभयो, र मलाई भन्‍नुभयो, "जा, र आफ्नो घरभित्र आफूलाई थुन्,25 किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बीचमा जान सक्दैनस् ।26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गुँगो हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्‍नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन् ।27 तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैँले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।' सुन्‍ने व्यक्तिले सुन्‍नेछ । नसुन्‍ने व्यक्तिले सुन्‍नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन् !"