4
"तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्यो तेरो सामु राख् । त्यसपछि त्यसमाथि यरूशलेमको नक्सा बना ।2 तब त्यसका चारैतिर घेरा हाल्, र त्यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्यसको वरिपरि छाउनी बना । त्यसलाई आक्रमण गरी भत्काउने मूढाहरू राख् ।3 तब आफ्नो निम्ति एउटा फलामको तावा ली र सहर र तेरो बीचमा एउटा फलामको पर्खालझैँ त्यो खडा गर् र तेरो मुहार सहरतिर फर्का, किनकि त्यो घेरा लाएको अवस्थामा हुनेछ, र तैँले त्यसलाई घेरा हाल्नुपर्छ । इस्राएलका घरानाको निम्ति यो एउटा चिन्ह हुनेछ ।4 त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैँले तिनीहरूको पाप बोक्नेछस् ।5 तिनीहरूको पापका वर्षको सङ्ख्याकै बराबर तेरो लागि दिनको सङ्ख्या तोकेको छुः तीन सय नब्बे दिन । यसरी तैँले इस्राएलका घरानाको पाप बोक्नेछस् ।6 जब तैँले ती दिन पूरा गर्नेछस्, तब दोस्रो पटक दाहिनेतिर कोल्टे पर् र किनकि तैँले चालीस दिनसम्म यहूदाका घरानाको पाप बोक्नेछस् । मैले तँलाई प्रत्येक वर्षको लागि एक दिन तोकेको छु ।7 तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्यस सहरको विरुद्धमा अगमवाणी भन् ।8 किनभने हेर् ! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।9 त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तीन सय नब्बे दिनसम्म तैँले त्यो खानेछस् ।10 तैँले खाने भोजनचाहिँ तौलअनुसार हुनेछ, हरेक दिन बीस शेकेल दिनको र तोकिएको बेलामा तैँले त्यो खानेछस् ।11 अनि तैँले एक माना पानी पिउनेछस्, त्यो तैँले तोकिएको-तोकिएको बेलामा पिउनेछस् ।12 जौका केक जस्तै बनाएर तैँले खानेछस्, तर तैँले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।13 किनकि परमप्रभु भन्नुहुन्छ, "यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बीचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् ।14 तर मैले भनेँ, "धिक्कार, हे परमप्रभु परमेश्वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्थादेखि अहिलेसम्म कहिल्यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दूषित मासु मैले कहिल्यै खाएको छैनँ ।"15 यसैले उहाँले मलाई भन्नुभयो, "हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैँले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।"16 उहाँले मलाई यो पनि भन्नुभयो, "ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु , र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।17 किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।"