5
"तब ए मानिसको छोरो, आफ्नो लागि हजामको छुरा जस्‍तै एउटा धारिलो तरवार ली र त्‍यसको धारले आफ्नो कपाल र दाह्री खौरी, त्‍यसपछि जोख्‍नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा ।2 जब घेराबन्‍दीका दिन समाप्त हुन्‍छन्, तब रौँको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिँ सहरका चारैतिर तरवारले टुक्राटुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिँ हावामा उडाइदे, र मानिसहरूलाई खेद्‌न म तरवार झिक्‍नेछु ।3 तर कपालको केही भाग ली र आफ्नो लुगामा ती बाँध् ।4 तब तीबाट अझै केही कपाल लिएर आगोको बीचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्‍यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।"5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “जातिहरूका बीचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्‍यसलाई राखेको छु र जहाँ मैले त्‍यसलाई अरू देशहरूले घेरेको छु ।6 तर आफ्नो दुष्‍ट्‌याइँमा आफ्ना चारैतिर भएका जातिहरूले भन्‍दा बढी त्‍यसले मेरा नियमहरू र अन्‍य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिँडेका छैनन् ।"7 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "तिमीहरू आफ्ना चारैतिरका जातिहरू भन्‍दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ।"8 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्‍ने तँलाई दण्ड दिनेछु ।9 तेरा घिनलाग्दा कामहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न म फेरि कहिल्यै गर्नेछु ।10 यसकारण तेरै बीचमा बुबाहरूले छोराछोरीहरूलाई र छोराहरूले आफ्ना बुबाहरूलाई खानेछन्, किनकि म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।11 यसकारण जस्‍तो म जीवित छु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - तेरा सबै घृणित कुराहरू र तैँले गरेका सबै घिनलाग्दा कामहरूले मेरो पवित्रस्थानलाई तैँले बिटुलो पारेको हुनाले म आफै तेरो सङ्‌ख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्‌याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।12 तेरा मानिसहरूमध्‍ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिँ तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिँ म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि झिक्‍नेछु ।13 तब मेरो क्रोध पूरा हुनेछ , र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्‍तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्‍त भएपछि तिनीहरूले जान्‍नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।14 तँलाई चारैतिरका जातिहरूका बीचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्यक्तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।15 यसैले यरूशलेम अन्‍य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रीस, क्रोध र डरलाग्दो गालीसित तेरो न्‍याय गर्नेछु - म परमप्रभुले यो घोषणा गरेको हुँ ।16 म तेरो विरुद्धमा अनिकालको मेरा घातक र नष्‍टकारी काँडहरू छोड्नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।17 तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बीचबाट जानेछ, र म तेरो विरुद्धमा तरवार ल्याउनेछु - म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।"