6
परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,2 "ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।3 यसो भन्, ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु, र तिमीहरूका अग्ला-अग्ला ठाउँहरूलाई म नाश गर्नेछु ।4 तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्बाहरू नाश पारिनेछन् र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।5 इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्ट पारिदिनेछु ।6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अग्ला-अग्ला ठाउँहरू नष्ट हुनेछन्, जसका कारण तिमीहरूका वेदीहरू उजाड र नष्ट हुनेछन् । तब तिनीहरू चकनाचूर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।7 मृतहरू तिमीहरूकै माझमा ढल्नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।8 तर तिमीहरूका बीचमा बचेकाहरूलाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बीचमा तरवारबाट उम्केका कोही हुनेछन् ।9 तब मबाट तर्केका तिनीहरूका व्यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्ने तिनीहरूका कुदृष्टिहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बीचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।10 यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनेँ ।11 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नो ताली बजा र आफ्ना खुट्टा बजार् ! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्ट र घिनलाग्दा व्यवहारहरूका कारण, धिक्कार !’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्ट हुनेछन् ।12 टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पूरा गर्नेछु !13 जब तिनीहरूका मूर्तिहरूका बीचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अग्लाअग्ला ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि - जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।14 अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।"