7
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो - इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । 'अन्‍त्‍य ! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ ।3 अब अन्‍त्‍य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्‍याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।4 किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।5 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति ! विशेष विपत्ति ! हेर्, त्‍यो आउँदै छ ।6 अन्‍त्‍यचाहिँ साँच्‍चै नै आउँदै छ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्‍यो आउँदै छ!7 तिमीहरू जो देशमा बस्छौ, तिमीहरूको सर्वनाश आउँदै छ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।8 अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रीस तेरो विरुद्धमा खन्‍याउनेछु । तेरो चालअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरू तँमाथि ल्याउनेछु ।9 किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्‍तो तैँले गरेको छस् त्‍यस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिँ म परमप्रभु नै हुँ भनी तैँले जान्‍नेछस् ।10 हेर्, त्‍यो दिन ! हेर्, त्‍यो आउँदै छ । तेरो सर्वनाश निस्केर आएको छ । लट्ठी फुलेको छ, अहंकारको कोपिला लागेको छ !11 हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको छ - तीमध्‍ये कुनै पनि, ती भीडमध्‍ये कुनै पनि, तिनका धन-सम्पत्तिमध्‍ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्य चीज छोडिनेछैन !12 समय आउँदै छ । दिन नजिकै आएको छ । किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्मै भीडमाथि परेको छ !13 किनकि जहिलेसम्म ती दुवै बाँच्‍नेछन्, बेच्‍ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्त भीडको बारेमा यो दर्शन बद्लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तीमध्‍ये कोही पनि बलियो पारिनेछैन !14 तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्मै भीडमाथि छ ।15 घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन् । खेतमा हुनेहरू तरवारले मारिनेछन्, जबकी सहरमा हुनेचाहिँ अनिकाल र रूढीले नष्‍ट हुनेछन् ।16 तर तीमध्‍येबाट केही बाँचेर उम्कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेँसीका ढुकुरझैँ शोक गर्नेछन् - हरेक मानिसले आ-आफ्ना अधर्मको निम्ति शोक गर्नेछ ।17 हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैँ निर्बल हुनेछ,18 र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन् र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।19 तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्‍यागिएको चीज जस्‍तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन् । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेस लाग्‍ने ढुङ्‌गो बनेको छ ।20 आफ्ना सुन्‍दर गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।21 तब म ती थोकहरू विदेशीहरू र दुष्‍टका हातमा लूटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुलो पार्नेछन् ।22 तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्नो अनुहार फर्काउनेछु । लुटेराहरू त्‍यहाँ पस्‍नेछन् र त्‍यसलाई बिटुलो पार्नेछन् ।23 साङ्ला बनाओ, किनभने देश रगतको न्‍यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।24 यसैले म सबै भन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुलो पारिनेछन् ।25 त्रास आउनेछ । तिनीहरूले शान्‍ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।26 विपद्‌माथि विपद् आउनेछ, र त्‍यहाँ हल्लामाथि हल्ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्, तर पूजाहारीबाट व्यवस्था र धर्म-गुरुहरूबाट सल्लाह नष्‍ट हुनेछ ।27 राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु' ।"