8
छैटौँ वर्षको छैटौँ महिनाको पाँचौँ दिनमा जब म आफ्नो घरमा बसेँ र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो ।2 तब मैले हेरेँ, र हेर, त्‍यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्मरमुनि आगो जस्‍तो थियो । अनि तिनको कम्मरदेखि माथिचाहिँ चम्किरहेको धातु जस्‍तो देखिन्‍थ्यो ।3 तब तिनले हात जस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बीचमा उचाल्नुभयो, र परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।4 तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो ।5 तब उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो ! तेरो आँखाले उत्तरतिर हेर् ।" यसैले मैले आँखाले उत्तरतिर हेरेँ, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।6 यसैले उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस् ? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई यहाँ गरिरहेका घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्‍नेछस् ।"7 तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरेँ र त्‍यहाँ पर्खालमा प्वाल थियो ।8 उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, यो भित्ताभित्र खन् ।" त्‍यसैले मैले त्‍यो भित्ताभित्र खनेँ, र त्‍यहाँ एउटा ढोका थियो ।9 तब उहाँले मलाई भन्‍नुभयो, "जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्दा दुष्‍ट कामहरू हेर् ।"10 यसैले म भित्र पसेँ र हेरेँ, र नियालेँ । त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू र घिनलाग्दा पशुहरू थिए ! इस्राएलको घरानाका जम्मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए ।11 त्‍यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्ना धुपौरो लिएर खडा थिए ।12 उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्‍यारोमा के गरिरहेका छन् भनी के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्‍येकले यसो गर्छन् किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ' ।"13 तब उहाँले मलाई भन्‍नुभयो, "फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठूला घिनलाग्दा कामहरू हेर् ।"14 त्‍यसपछि उहाँले मलाई परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्‍यहाँ स्‍त्रीहरू बसेर तम्मूज देवताको लागि रोइरहेका थिए ।15 त्‍यसैले उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, के तँ यो देख्छस् ? फर्की र यी भन्‍दा पनि बढी घिनलाग्दा कुराहरू हेर् ।"16 उहाँले मलाई परमप्रभुका मन्‍दिरको भित्री चोकमा लानुभयो, र हेर, त्‍यहाँ वेदी र दलानको बीचमा परमप्रभुको मन्‍दिरको ढोकामा करिब पच्‍चीस जना मानिसहरू थिए, आफ्ना पीठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिँ पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पूजा गरिरहेका थिए ।17 उहाँले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, के तँ यो देख्छस् ? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र ? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रीस उठाउनलाई तर्केका छन् ।18 यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च स्‍वरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।