5
हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।2 हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए । ‍3 हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवा जस्ता छन् ।4 हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।5 हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।6 पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।7 हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।8 कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।9 उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।11 सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्‍याहरूलाई बलात्कार गरिएका छन् ।12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्‌याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।13 युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्‍य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्‌गीत छोडिदिएका छन् ।15 हाम्रो हृदयको आनन्‍द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्कार छ ! किनकि हामीले पाप गरेका छौँ ।17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यी नै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्‍छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुनेछ ।20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्‍छ ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्‍याग्‍नुहुन्‍छ ?21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुनेछौँ । धेरै पहिले भए जस्‍तै हाम्रा दिनहरू नवीकरण गरिदिनुहोस् -22 यदि तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र हदै नाघेर तपाईं हामीसित रिसाउनुभएको छैन भने ।