52
सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्काईस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्‍नाका यर्मियाकी छोरी थिइन् ।2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्‍यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे ।3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाहले बेबिलोनको विरुद्धमा विद्रोह गरे ।4 राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए । तिनीहरूले त्‍यसको सामु छाउनी हाले, र तिनीहरूले त्‍यसको चारैतिर घेराबन्‍दी गरे ।5 यसरी राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेराबन्‍दी गरियो ।6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।7 तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धाहरू रातमा राजाको बगैँचानेर भएका दुई वटा पर्खालको बीचको ढोकाको बाटो भएर भागे । तिनीहरू अराबाको दिशातिर गए ।8 तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।9 तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए ।10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवाहरूलाई पनि मारे ।11 तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्‍यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।12 अब बेबिलोनका राजा नबूकदनेसरले राज्‍य सुरु गरेको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्‌गरक्षकहरूका सेनापति अनि बेबिलोनका राजाका सेवक थिए ।13 तिनले परमप्रभुको मन्‍दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।14 यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्‌गरक्षकहरूका सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।15 सबै भन्‍दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्‌गरक्षकहरूका सेनापति नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।16 तर अङ्‌गरक्षकहरूका सेनापति नबूजरदानले दाखबारी र खेतहरूमा काम गर्न देशका सबै भन्‍दा गरीबहरूलाई त्‍यहीँ छोडे ।17 परमप्रभुको मन्‍दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोको विषयमा, कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिँ बेबिलोनमा लगे ।18 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्‍दिरमा पूजाहारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले ती सबै लगे ।19 राजाका अङ्‌गरक्षकका सेनापतिले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।20 सोलोमनले मन्‍दिरको लागि बनाएका दुई वटा स्तम्‍भहरू, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्र वटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।21 स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्‍येकको मोटाइ चार अङ्‌गुल चौडा र खोक्रो थियो ।22 स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्‍यसका दारिमहरूसहित पहिलेको जस्‍तै थियो ।23 स्तम्भ-शिरका छेउ-छेउमा छयानब्बे वटा दारिमहरू थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्मा एक सय वटा थिए ।24 अङ्‌गरक्षकहरूका सेनापतिले मुख्य पूजाहारी बन्‍दी सरायाह, दोस्रो दर्जाका पूजाहारी सपन्‍याह र तीन जना द्वारपालहरूलाई लिएर गए ।25 तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारहरूलाई सहरबाट कैद गरेर लगे । तिनले देशका मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्‍य साठी जना विशिष्‍ट मानिसहरूलाई पनि कैद गरेर लगे ।26 तब अङ्‌गरक्षकहरूका सेनापति नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे ।27 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदीहरू ।29 नबूकदनेसरको अठारौँ वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसहरूलाई लगे ।30 नबूकदनेसरको तेईसौँ वर्षमा अङ्‌गरक्षकहरूका सेनापति नबूजरदानले यहूदाका ७४५ जना मानिसहरूलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।31 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतीसौँ वर्षको बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो ।32 राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्‍य राजाहरूलाई भन्‍दा तिनलाई प्रतिष्‍ठित स्थान दिए ।33 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबिलमा खानपान गरे,34 र तिनको मृत्‍यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।