1
यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।2 ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः "मैले छोराछोरीहरूलाई पालनपोषण गरेको छु र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।3 गोरुले आफ्नो मालिक चिन्‍छ र गधाले आफ्नो मालिकको डूँड चिन्‍छ, तर इस्राएलले चिन्‍दैन र इस्राएलले बुझ्दैन ।4 धिक्कार ! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्‍तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्‍तानहरू ! तिनीहरूले परमप्रभुलाई त्‍यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।5 तिमीहरू अझै पनि किन पिटाइ खाँदैछौ ? तिमीहरू किन झन् विद्रोह गर्छौ ? सम्पूर्ण टाउको नै बिरामी छ र सम्पूर्ण हृदय नै कमजोर छ ।6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अङ्‌ग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्‍द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भस्‍म पारिएका छन् । तिमीहरूका खेतहरू - नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन् - उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।8 सियोनकी छोरीलाई दाखबारीको कटेरोझैँ, काँक्राबारीको छायाझैँ र घेरा हालिएको सहरझैँ त्‍यागिएको छ ।9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति थोरै बाँकी रहेका नछोड्नुभएको भए, हामी सदोमझैँ हुने थियौँ, हामी गमोराझैँ हुने थियौँ ।10 ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।11 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका असङ्‌ख्‍य बलिदानहरू मेरो निम्ति के नै हुन् र ? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न ।12 तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ ?13 व्यर्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औँसी र शबाथका सभाहरू - यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ ।14 तिमीहरूका औँसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बेहोरेर म थाकिसकेको छु ।15 त्‍यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।16 नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड ।17 असल गर्न सिक । न्‍याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्‍याय देओ र विधवाको रक्षा गर ।”18 परमप्रभु भन्‍नुहुन्‍छ, “अहिले आओ, हामी मिलेर छलफल गरौँ । तिमीहरूका पापहरू बैजनी रङ्‌गका भए तापनि, ती हिउँ जस्‍तै सेता हुनेछन् । ती सिन्‍दुरे रङ्‌गका भए तापनि ती ऊन जस्‍तै हुनेछन् ।19 तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,20 तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ”, किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ ।21 विश्‍वासयोग्य सहर कसरी वेश्या भएको छ ! त्‍यो न्‍यायले पूर्ण थियो - त्‍यो धार्मिकताले भरिपूर्ण थियो, तर अहिले त्‍यो हत्‍याराहरूले भरिएको छ ।22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्यमा पानी मिसाइएको छ ।23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घूसलाई प्रेम गर्छ र उपहारको पछि भाग्छन् । तिनीहरूले अनाथहरूको रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्‍ती नै तिनीहरूका सामु आउँछन् ।24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्कार ! आफ्ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्ना शत्रुहरूसँग म साटो फेर्नेछु ।25 म आफ्ना हात तिमीहरूका विरुद्धमा उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैँ तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।26 म तिमीहरूका न्‍यायकर्ताहरूलाई पहिलेको झैँ र तिमीहरूका सल्लाहकारहरूलाई सुरुको झैँ पुनर्स्थापना गर्ने छु । त्‍यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।27 सियोनलाई न्‍यायले उद्धार गर्नेछ र त्‍यसमा भएका पश्‍चात्तापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।28 विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्‍याग्‍नेहरू नष्‍ट हुनेछन् ।29 “किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगेँचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।30 किनभने तिमीहरू पातहरू ओइलाउने फलाँट जस्ता र पानी नभएको बगैँचा जस्ता हुनेछौ ।31 बलिया मानिसहरू चाँडै जल्ने सामग्री जस्‍तो र उसको काम एउटा झिल्को जस्‍तो हुनेछ । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।”