1
यो सोलोमनको श्रेष्‍ठगीत हो । प्रेमिका आफैसित बोल्दैः2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दैः किनकि तपाईंको प्रेम दाखमद्य भन्‍दा उत्तम छ ।3 तपाईंको अभिषेकको तेलमा आनन्‍दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्‍यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् ।4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडनेछौँ । प्रेमिका आफैसित बोल्दैः राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दैः हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्‍द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्य भन्‍दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्नु स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरू जस्‍तै काली र सोलोमनका पर्दाहरू जस्‍तै मायालु छु ।6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः7 हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्‍छ ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्‍छ ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने ? प्रेमी प्रेमिकासित बोल्दैः8 हे स्‍त्रीहरूमध्‍ये असाध्‍यै सुन्‍दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ ।9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।10 श्रृङ्‌गारले तिम्रा गाला सुन्‍दर भएका छन्; गरगहनाले तिम्रो गला सजिएको छ ।11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो ।13 मलाई मेरा प्रेमी मूर्रको थैली जस्‍तै लाग्छ जसले मेरा वक्षस्थलका बीचमा रात बिताउनुहुन्‍छ ।14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्‍पा जस्‍तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः15 हे मेरी प्रिय, सुन । तिमी सुन्‍दरी छ्यौ । सुन, तिमी सुन्‍दरी छ्यौ । तिम्रा आँखा ढुकुर जस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः16 हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्‍दर हुनुहुन्‍छ । हो, तपाईं कति सुन्‍दर हुनुहुन्‍छ ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् ।17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।