12
तेरा कठिन दिनहरू आउनुअघि र "मलाई तिनमा रमाहट छैन" भन्‍ने तेरा वर्षहरू आउनुअघि तेरो युवावस्थामा नै तेरो सृष्‍टिकर्ताको सम्झना गर् ।2 सूर्य, चन्‍द्रमा र ताराहरूको ज्‍योति कम हुनुअघि र बादलहरू वर्षापछि फर्कनुअघि यसो उहाँको सम्झना गर् ।3 त्‍यो यस्तो समय हुनेछ, जुन बेला दरबारका पहरेदारहरू काम्‍नेछन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुनेछन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍नेछैनन् ।4 त्‍यो यस्तो समय हुनेछ, जुन बेला सडकहरूमा ढोकाहरू बन्‍द गरिन्‍छन्, र जाँतो पिँध्‍नेहरूको आवाज बन्‍द हुनेछ, र चराचुरुङ्‌गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्‍छन् ।5 त्‍यो यस्तो समय हुनेछ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फूल फक्रन्‍छ र जब फटेङ्‌ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्‍छा असफल हुन्‍छ, तब मानिस आफ्नो अनन्‍त घरमा जान्‍छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्‍छन् ।6 चाँदीको तार चुँडिनुअघि वा सुनको कचौरा कुच्‍च्‍याइनुअघि वा मूलमा माटोको भाँडो टुक्राटुक्रा हुनुअघि वा कुवामा पाङ्‌ग्रो भाँचिनअघि तेरो सृष्‍टिकर्ताको सम्झना राख् ।7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअघि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा फर्किजानुअघि उहाँको सम्झना गर् ।8 उपदेशक भन्‍छन्, "व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।"9 उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्‍ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठीक क्रममा मिलाएर राखे ।10 उपदेशकले सत्‍यताका प्रस्ट र सीधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे ।11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्‍छन् । गुरुहरूले सङ्‌कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्‍छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।12 हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्ः धेरै पुस्तकहरू लेख्‍ने कामको अन्‍त्‍य हुँदैन, र धेरै अध्‍ययनले शरीरमा थकान ल्याउँछ ।13 हरेक कुरा सुनिएपछि कुराको अन्‍त्‍य यही हो कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।14 किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्‍यो असल होस् वा खराब, त्‍यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ ।