1
दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः2 यी हितोपदेशहरू बुद्धि र निर्देशनका कुराहरू सिकाउन र अन्‍तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,3 ताकि जे ठीक, न्‍यायी र उचित छ त्‍यो गरेर बाँच्‍नलाई तिमीले निर्देशन प्राप्त गर्न सक ।4 यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,6 जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्‍तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्‍छ ठान्‍छ ।8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।9 ती तेरो शिरमा अनुग्रहको माला हुनेछन्, र तेरो गलामा सम्मानको हार हुनेछन् ।10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।11 तिनीहरूले भन्लान्, "हामीसित आऊ । रक्तपातको लागि ढुकिबसौँ । बिना कारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ ।13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउनेछौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्नेछौँ ।14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुनेछ ।"15 हे मेरो छोरो, तिनीहरूसँग त्‍यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।16 तिनीहरूका पाउ खराबीको लागि दौडन्‍छन्, र तिनीहरू रगत बगाउन हतारिन्‍छन् ।17 किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु व्‍यर्थ हुन्‍छ ।18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्‍यानको लागि पासो थाप्छन् ।19 अन्‍यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्‍यस्तै हुन्‍छन् । अन्‍यायद्वारा कमाउनेहरूको जीवन त्‍यही धनले छिनेर लैजान्‍छ ।20 बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्‍यसले आफ्नो स्‍वर उचाल्छ ।21 होहल्लाले भरिएका सडकहरूको माथि त्‍यो कराउँछ, र सहरको मूल ढोकामा त्‍यसले भन्‍छ,22 "हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्‍छौ ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ ?23 मेरो सुधारलाई ध्‍यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्‍याइदिनेछु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिनेछु ।24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्‍यान दिने कोही थिएन ।25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्नेछु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्नेछु -27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउनेछ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्‍छ, र सङ्‌कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् ।28 तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म जवाफ दिनेछैनँ । तिनीहरूले मेरो औधी खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन् ।29 तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्‍छ ठाने ।31 तिनीहरूले तिनीहरूका चालको फल खानेछन्, र तिनीहरूका षड्‌यन्‍त्रको फलले तिनीहरू भरिनेछन् ।32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्‍छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्नेछन् ।33 तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउनेछ, र कुनै पनि विपत्तिको डरैबिना ढुक्कसित बस्‍नेछ ।"