1
त्‍यो मानिस धन्‍यको हो जो दुष्‍टको सल्लाहमा हिँड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्ला गर्नेहरूको सभामा बस्दैन । 2 तर त्‍यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्‍छ र उहाँको व्यवस्थामा त्‍यसले दिन र रात मनन गर्छ । 3 त्‍यो खोलाको किनारमा रोपेको रूख जस्‍तै हुनेछ जसले आफ्नो ऋतुमा त्‍यसको फल दिन्‍छ जसको पातहरू कहिल्यै ओइलाउँदैनन्; त्‍यसले जे गरे पनि सफल हुनेछ । 4 दुष्‍टहरू त्‍यस्ता होइनन् तर हावाले उडाउने भुस जस्‍तै हुन् । 5 त्‍यसैले दुष्‍टहरू न्‍यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् । 6 किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्‍छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।