42
तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,2 "तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्न सकिँदैन ।3 तपाईंले सोध्नुभयो, 'ज्ञानबिना योजनाहरू लुकाउने को हो ?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गाह्रो थियो, जसको बारेमा मलाई थाहा थिएन ।4 तपाईंले मलाई भन्नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस् ।'5 तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।6 त्यसैले म आफैलाई हीन ठान्छु । धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्छु ।"7 परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, "तँ र तेरा दुई जना मित्रहरूको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैँ तिमीहरूले मेरो विषयमा जे ठीक छ, सो बोलेका छैनौ ।8 त्यसकारण अब आफ्नो निम्ति सात वटा साँढे र सात वटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैँ तिमीहरूले मेरो विषयमा जे ठीक छ, सो बोलेका छैनौ ।"9 त्यसैले एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैँ गरे, अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो ।10 अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएको भन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो ।11 तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।12 परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।13 तिनका सात छोरा र तीन छोरी पनि थिए ।14 तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।15 सारा देशमा अय्यूबका छोरीहरू जत्तिकै सुन्दरी कुनै स्त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।16 यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।17 तब पूरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।