1
अहासूरसको राजकाजका दिनहरूमा, (उनी त्यही अहासूरस थिए जसले भारतदेखि कूशसम्मै गरी १२७ प्रान्तहरूमाथि राज्य गर्थे),2 ती दिनहरूमा राजा अहासूरस शूशनको किल्लामा अवस्थित आफ्नो राजकीय सिंहासनमा बसे ।3 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारीहरू र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्तका बडाहाकिमहरू तिनको उपस्थितिमा थिए ।4 तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्ताको महिमाको रवाफ देखाए ।5 यी दिन समाप्त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबै भन्दा ठूलादेखि सानासम्म सबै मानिसहरूका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।6 बगैँचाको चोकलाई सूती कपडाका सेता र नीला, राम्ररी बाटेका सूती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए । त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्ने आसनहरू थिए ।7 सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो ।8 “जबरजस्ती गरिनु हुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीहरूलाई आदेश दिएका थिए ।9 रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्त्रीहरूलाई एउटा भोज दिइन् ।10 सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे),11 रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।12 तर अधिकारीहरूद्वारा ल्याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा साह्रै रिसाए । आफूभित्रै तिनी रीसले क्रुद्ध भए ।13 त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानून र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।14 फारस र मादीका सात जना राजकुमारहरू अर्थात् कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्चतम् पदहरूमा थिए ।15 राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानूनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?”16 राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।17 रानीको यो विषय सारा स्त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।’18 आजको दिन समाप्त नहुँदै रानीको यस विषयलाई सुन्ने फारस र मादीका कुलीन स्त्रीहरूले राजाका सबै अधिकारीहरूलाई उही कुरा भन्नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।19 राजालाई यस कुराले खुसी लाग्छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानूनमा लेखियोस् । राजाले उनी भन्दा अझै असल स्त्रीलाई उनको स्थानमा रानीको दर्जा दिनुहोस् ।20 जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठूलादेखि साना सबै जनाको पत्नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।”21 यस सल्लाहबाट राजा र तिनका कूलीनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।22 तिनले सारा राजकीय प्रान्तहरूमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।