13
त्‍यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्‍यसमा लेखिएको भेट्टाइयो ।2 किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो ।3 तिनीहरूले व्यवस्था सुन्‍ने बित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीलाई अलग गराए ।4 अब यो भन्‍दा पहिले पूजाहारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्‍दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो ।5 एल्यासीबले तोबियाको लागि एउटा ठूलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पूजाहारीहरूका निम्ति दान राख्‍ने गर्थे ।6 तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ,7 र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्‍दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ ।8 म साह्रै रिसाएँ, र मैले भण्डार-कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ ।9 भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्‍वरका मन्‍दिरका सामानहरू, अन्‍नबलिहरू र धूप फेरि त्‍यहाँ राखेँ ।10 लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहेछन् भनी मैले थाहा पाएँ ।11 त्‍यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, “परमेश्‍वरको मन्‍दिरलाई किन बेवास्ता गरिएको ?” मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ ।12 तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए ।13 मैले पूजाहारी शेलेम्याह, शास्‍त्री सादोक र लेवीहरूबाट पदायाहलाई भण्डार-कोठाहरूको कोषाध्‍यक्षको रूपमा नियुक्त गरेँ । जक्कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए । तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो ।14 हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्‍दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् ।15 ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, अन्‍नका भारीहरू ल्याइरहेका, अनि दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ-दिनमा यरूशलेममा ल्याएको देखेँ । त्‍यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ ।16 यरूशलेममा बस्‍ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए, अनि शबाथमा तिनीहरूले यहूदा र सहरका मानिसहरूलाई ती चीजहरू बेचे ।17 तब मैले यहूदाका मानिसहरूको सामना गरेँ, “शबाथ-दिनलाई अपवित्र पारी तपाईंहरूले यो दुष्‍ट काम गर्नुको अर्थ के हो ?18 के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् र ? के हाम्रा परमेश्‍वरले हामी र हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन र ? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ ।”19 शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्ने बित्तिकै ती बन्‍द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।20 सबै किसिमका सामान ल्याउने र बेच्‍नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले ।21 तर मैले तिनीहरूलाई चेताउनी दिएँ, “तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने म तपाईंहरूलाई कारबाही गर्नेछु ।” त्‍यस समयदेखि तिनीहरू शबाथमा आएनन् ।22 तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ । हे मेरा परमेश्‍वर, मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस्, र मलाई दया देखाउनुहोस् ।23 ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।24 तिनीहरूका सन्‍तानमध्‍ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्‍ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।25 मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू ।26 के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र ? जाति-जातिहरूका बीचमा तिनी जस्ता राजा कोही थिएनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्‍थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए ।27 के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने, अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने ?”28 प्रधान पूजाहारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको जुवाइँ रहेछ । त्‍यसकारण मैले त्‍यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ ।29 हे मेरा परमेश्‍वर, तिनीहरूलाई सम्झनुहोस्, किनकि तिनीहरूले पूजाहारीको पद, यसको करार र लेवीहरूलाई दूषित पारेका छन् ।30 यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ, अनि पूजाहारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ ।31 मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ । ३१ हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।