1
फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पूरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्यो । लेखिएको र बोलिएको कुरो यही नै होः2 “फारसका राजा कोरेस भन्नुहुन्छ, ‘परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभयो ।3 जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा वास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् ।4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलका प्रमुख अगुवाहरू र पूजाहारीहरू अनि लेवीहरू उठे ।6 तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चीजहरू, धन-सम्पत्ति, गाईवस्तु, मूल्यवान् चीजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।7 नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्दिरका चीजहरू पनि फारसका राजा कोरेसले निकाले ।8 कोरेसले ती कोषाध्यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिएः सुनका भाँडा तीस वटा, चाँदीका भाँडा एक हजार वटा, उनन्तीस वटा बाटा,10 सुनका कचौरा तीस वटा, चार सय दश वटा चाँदीका स-साना कचौरा र एक हजार वटा अन्य भाँडाकुँडा ।11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० वटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।