1
हकल्याहका छोरा नहेम्याहका वचनहरूः बीसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,2 मेरा दाजुहरूमध्‍येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्‍यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्‍तमा छन्, तिनीहरू ठूलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मूल ढोकाहरूमा आगो लगाइएका छन् ।”4 मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।5 तब मैले भनेँ, “कृपया, म बिन्‍ती गर्छु, परमप्रभु, स्वर्गका परमेश्‍वर, परमेश्‍वर जो महान् र भययोग्य हुनुहुन्छ, जसले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूसँग करार र अटल प्रेम कायम राख्‍नुहुन्‍छ ।6 अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिन प्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस् र आँखा खोल्‍नुहोस् । तपाईंको विरुद्धमा इस्राएलका मानिसहरूले गरेका पापहरू म स्वीकार गर्दै छु, जुन पाप हामीले तपाईंको विरुद्धमा गरेका छौँ । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।7 हामीले तपाईंको विरुद्धमा धेरै दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।8 कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, ‘तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितर-बितर पारिदिनेछु,9 तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्‍यहाँबाट जम्मा गर्नेछु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउनेछु ।’10 तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ ।,11 हे परमप्रभु, म बिन्‍ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंको दासको प्रार्थना र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।