2
राजा अर्तासास्तको बीसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ ।2 त्यसैले राजाले मलाई सोध्नुभयो, “तिम्रो अनुहार किन यति उदास छ ? तिमी बिरामी जस्तो त देखिँदैनौँ । यो हृदयको उदासी हुनुपर्छ ।” तब म साह्रै डराएँ ।3 मैले राजालाई भनेँ, “राजा सदासर्वदै अमर रहून् ! मेरो अनुहार किन उदास नहुने त ? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्ट पारेका छन् ।”4 तब राजाले मलाई भन्नुभयो, “मैले के गरेको तिमी चाहन्छौ ?” त्यसैले मैले स्वर्गका परमेश्वरलाई प्रार्थना चढाएँ ।5 मैले राजालाई जवाफ दिएँ, “राजालाई असल लाग्यो भने, र हजूरका दासले हजूरको दृष्टिमा राम्रै गरेको छ भने हजूरले मलाई मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर यहूदा पठाउन सक्नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ ।”6 राजाले मलाई जवाफ दिनुभयो (रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो), “तिमी कहिलेसम्म टाढिन्छौ र तिमी कहिले फर्कनेछौ ?” मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो ।7 तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् ।8 राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई जुटाइदेऊन् ।” परमेश्वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो ।9 म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए ।10 कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए ।11 यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ तीन दिन रहेँ ।12 म र केही मानिसहरू रातमा उठ्यौँ । यरूशलेमको निम्ति परमेश्वरले मेरो हृदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ । म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन ।13 म राति बेँसी ढोका भएर बाहिर निस्केँ, अनि यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्यालको पोखरीतिर गएँ ।14 त्यसपछि म फुहारा ढोका र राजाको तलाउमा गएँ । त्यो ठाउँ यति सानो थियो कि म चढिरहको पशु जानलाई ठाउँ नै पुगेन ।15 त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ ।16 म कहाँ गएँ र मैले के गरेँ भन्ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पूजाहारीहरू, न प्रतिष्ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।17 मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्टमा छौँ, यरूशलेम कसरी भग्नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्ट पारिएको छन् भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”18 मेरा परमेश्वरको असल हात ममाथि थियो भनी र राजाले मलाई भन्नुभएका वचनहरूको बारेमा पनि मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?”20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफलता दिनुहुनेछ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्नेछौँ र निर्माणको काम गर्नेछौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”