3
तब प्रधान पूजाहारी एल्यासीब आफ्ना सङ्‌गी पूजाहारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।2 तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्कूरले काम गरे ।3 हस्सेनाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले त्‍यसका लागि सत्तरीहरू बनाई त्‍यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।4 मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोरा, हक्कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोरा, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए ।5 तिनीहरूपछि तकोका बासिन्‍दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे ।6 पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले त्‍यसका लागि सत्तरीहरू, त्‍यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।7 तिनीहरूपछि गिबोनी मलत्‍याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्‍तका राज्‍यपाल बस्‍ने ठाउँ मर्मत गरे ।8 तिनीपछि एक जना सुनार, हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्‍याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे ।9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।10 तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्‍याहका छोरा हत्तूशले मर्मत गरे ।11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत गरी अर्को भाग मर्मत गरे ।12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।13 हानून र जानोहका बासिन्‍दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले त्‍यसको पुनर्निर्माण गरी त्‍यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे ।14 बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले त्‍यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।15 मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले त्‍यसको निर्माण गरी त्‍यसमाथि छाना लगाए, र त्‍यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्किलाहरूसम्मै पुनर्निर्माण गरे ।16 बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।17 तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे ।18 तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका मानिसहरूले मर्मत गरे ।19 तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो ।20 तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पूजाहारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे ।21 तिनीपछि उरियाहका चोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे ।22 तिनीपछि पूजाहारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे ।23 तिनीहरूपछि बेन्‍यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे ।24 तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे ।26 ओफेलमा बसिरहेका मन्‍दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे ।27 तिनीपछि तकोका बासिन्‍दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।28 पूजाहारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे ।29 तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्‍याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे ।30 तिनीपछि शेलेम्याहका छोरा हनन्‍याह र सालापका जन्‍तरे छोरा हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो वासस्थानको सामु मर्मत गरे ।31 तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्‍दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे ।32 सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बीच भाग मर्मत गरे ।