10
एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्दा तिनी रोए र परमेश्‍वरको मन्‍दिरको सामु घोप्‍टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाहरूको एउटा ठूलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।2 एलामका परिवारका यहीएलका छोरा शकन्‍याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौँ, र हामीले अन्‍य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौँ । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।3 त्‍यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीहरूलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौँ, र यो काम व्यवस्थाअनुसार गरियोस् ।4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्‍छ र हामी तपाईंसित छौँ । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।5 त्‍यसैले एज्रा उठे, र पूजाहारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए ।6 तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्‍यागको लागि शोक गर्दै थिए ।7 तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसहरूलाई यरूशलेममा भेला हुन समाचार पठाए ।8 अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तीन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठूलो सभाबाट बहिष्कार गरिने भयो ।9 त्‍यसैले यहूदा र बेन्‍यामीनका सारा मानिस तीन दिनमा यरूशलेममा भेला भए । यो नवौँ महिनामा र उक्त महिनाको बाह्रौँ दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्‍दिरको सामुन्‍ने चोकमा खडा भए, र यस विषय र वृष्‍टिको कारणले थरथर काँपे ।10 पूजाहारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ ।11 तर अब आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्‍छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो ।12 सारा समुदायले ठूलो स्‍वरमा जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ हामी गर्नेछौँ ।13 यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित तागत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौँ ।14 त्‍यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्‍यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे ।16 यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पूजाहारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दशौँ महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे ।17 पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।18 विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पूजाहारी परिवारहरूका यी नै हुन्ः योसादाकका छोरा येशूअ र तिनका दाजुभाइकाः मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए ।19 त्‍यसैले तिनीहरूले आ-आफ्ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्ना बगालबाट एउटा भेडा पनि ल्याए ।20 इम्मेरका परिवारकाः हनानी र जबदियाह ।21 हारीमका परिवारकाः मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह ।22 पशहूरका परिवारकाः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा ।23 लेवीहरूमाः योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर ।24 गायकहरूमाः एल्यासीब । द्वारपालहरूमाः शल्लूम, तेलेम र ऊरी ।25 अनि अरू इस्राएलीहरूमा- परोशका परिवारकाः रम्याह, यिज्‍याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।26 एलामका परिवारकाः मत्तन्‍याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया ।27 जत्तूका परिवारकाः एल्योएनै, एल्यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।28 बेबैका परिवारकाः येहोहानान, हनन्‍याह, जब्बै र अत्लै ।29 बानीका परिवारकाः मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत ।30 पहत-मोआबका परिवारकाः अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्शे ।31 हारीमका परिवारकाः एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,32 बेन्‍यामीन, मल्लूक र शमरयाह ।33 हाशूमका परिवारकाः मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी ।34 बानीका परिवारकाः मादै, अम्राम, ऊएल,35 बनायाह, बेदयाह, कलूही,36 भन्‍याह, मरेमोत, एल्यासीब,37 मत्तन्‍याह, मत्तनै र यासू ।38 बिन्‍नूईका परिवारकाः शिमी,39 शेलेम्याह, नातान, अदायाह,40 मक्‍नादबै, शाशै, शारै,41 अज्रेल, शेलेम्याह, शमरयाह,42 शल्लूम, अमर्याह र योसेफ ।43 नेबोका परिवारकाः यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।44 यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्‍ये कसैले छोराछोरीहरूसमेत जन्‍माएका थिए ।