9
जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पूजाहारीहरू र लेवीहरूले अन्य देशमा बस्ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।2 किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विवाह गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्वासको काम गरेका छन् ।3 जब मैले यो सुनेँ तब मैले मेरो लुगा र खास्टो च्यातेँ अनि मेरो शिरको कपाल र दाह्री उखेलेँ र दुःखित भई बसेँ ।4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्वासयोग्य कामको बारेमा इस्राएलका परमेश्वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।5 तर साँझको बलिदानको समयमा आफ्नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठेँ, र घुँडा टेकेँ अनि परमप्रभु मेरा परमेश्वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।6 मैले भने, “हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठूलो दोषमा छौँ । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पूजाहारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लूट र बेइज्जतको लागि सुम्पिइयो जस्तो आज हामी छौँ ।8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्वरले केही जीवित रहेकाहरू हामीलाई छोडिदिनुभएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्वरले यसो गर्नुभयो ।9 हामी दासहरू हौँ, तर हाम्रा परमेश्वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्वसनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्वरको मन्दिर पुनर्निर्माण गर्न सकौँ र यसका भग्नावशेषहरूलाई उठाउन सकौँ भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।10 तर अब हे हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौँ र ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौँ ।11 ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् ।12 त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीहरूको लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।’13 तापनि हाम्रो दुष्ट अभ्यास र हाम्रो ठूलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्छ र ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्यान्न पार्नुहुन्न र ?15 हे इस्राएलका परमप्रभु परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौँ । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौँ ।”