1
दाऊदका छोरा सोलोमन आफ्नो शासनमा बलिया पारिए, र परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।2 सबै इस्राएलसित, हजारका कप्तान र सयका कप्तानसित, र न्यायकर्ताहरूसित, र सारा इस्राएलमा भएका हरेक शासकसित, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।3 अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि त्यहाँ परमेश्वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाडस्थानमा बनाएका थिए ।4 तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए, किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।5 साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो । सोलोमन र त्यो सभा त्यहाँ गए ।6 सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।7 त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “माग्, म तँलाई के दिऊँ ?”8 सोलोमनले परमेश्वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान् करारको विश्वस्तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ ।9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पूरा गर्नुहोस्, किनकि पृथ्वीको धूलो जत्तिकै अनगिन्ती मानिसहरूमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसहरूलाई म नेतृत्व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र ?”11 परमेश्वरले सोलोमनलाई भन्नुभयो, “किनभने तेरो हृदयमा यो कुरा थियो, र तैँले समृद्धि, धन-सम्पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्नो निम्ति दीर्घायु नै मागिस्, तर आफ्नो निम्ति तैँले बुद्धि र ज्ञान मागिस् ताकि तैँले मेरा मानिसहरूमाथि शासन गर्न सकोस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।12 अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्तो समृद्धि, धन-सम्पत्ति, र आदर पनि दिनेछु, जो तँ भन्दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँ भन्दा पछिका कुनैले पनि पाउनेछैनन् ।”13 तब सोलोमन गिबोनको अग्लो स्थानको भेट हुने पालबाट यरूशलेममा आए । तिनले इस्राएलमाथि शासन गरे ।14 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्ने सहरहरूमा र आफूसित, अर्थात् यरूशलेमका राजासित राखे ।15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिँ तराईमा हुने अञ्जीरहरू जस्तै प्रशस्त तुल्याए ।16 सोलोमनका घोडाहरू मिश्र देश र क्यूएबाट पैठारी हुन्थे । तिनका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे ।17 तिनीहरूले प्रत्येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिँ 150 शेकेल चाँदीमा मिश्र देशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।