2
सोलोमनले परमप्रभुका नाउँको निम्ति एउटा मन्दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।2 सोलोमनले भारी बोक्नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तीस सय मानिसहरूलाई जिम्मा दिए ।3 सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्यसै गर्नुहोस् ।4 हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न, त्यसलाई उहाँको निम्ति अलग गर्न, उहाँको सामु सुगन्धित मसलाका धूप बाल्न, उपस्थितिको रोटी राख्न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औँसीहरूमा र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्ति सदासर्वदाको लागि हो ।5 मैले निर्माण गर्न लागेको मन्दिर अत्यन्तै ठूलो भवन हुनेछ, किनकि हाम्रा परमेश्वर अरू सबै देवताहरू भन्दा महान् हुनुहुन्छ ।6 तर सारा विश्व र स्वर्ग नै पनि परमेश्वरको निम्ति सानो हुन्छ भने, कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र ?7 यसकारण मेरो निम्ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्ने एक जना निपुण कारीगर पठाइदिनुहोस् । तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्ने मानिस पनि होऊन् । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन् ।8 मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,9 ताकि मेरो निम्ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्दिर महान् र आश्चर्यको हुनेछ ।10 हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”11 टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिएः “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो ।”12 साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्वर धन्यका होउन्, जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल बनाउनुहुनेछ ।13 अब मैले एक जना सिपालु मानिस हुराम-अब्बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।14 तिनी दानका छोरीहरूमध्येकी एक जना स्त्रीका छोरा हुन् । तिनका बुबा टुरोसका मानिस हुन् । तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन् । तिनी कुनै पनि किसिमका बुट्टा कुँद्ने र कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन् । तिनलाई तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस् ।15 अब मेरा स्वामीले आफ्ना सेवकहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस् ।16 तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौँ । मूढाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौँ, र तपाईंले ती यरूशलेमसम्म लैजानुहुनेछ ।”17 आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीहरूको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।18 यीमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तीस सयलाई नियुक्त गरे ।