3
तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे । दाऊदले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्‍यो ठाउँ तयार पारे ।2 तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे ।3 परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यी नै थिए । हातको पुरानो चलनको नापअनुसार लम्‍बाइ साठी हात र चौडाइ बीस हात थियो ।4 मन्‍दिरको अगाडिको दलानको लम्‍बाइ बीस हात लामो थियो, जुन मन्‍दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।5 तिनले मुख्य सभाकक्षको सिलिङमा सल्लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए । अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए ।6 तिनले मन्‍दिरलाई बहुमूल्य पत्थरहरूले सिँगारे । सुनचाहिँ पर्वेमको सुन थियो ।7 तिनले त्‍यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्‍यसका भित्ताहरूमा करूबहरूको बुट्टा कुँदे ।8 तिनले महा-पवित्रस्थानको निर्माण गरे । यसको लम्बाइ मन्‍दिरको चौडाइ बराबर बीस हात र यसको चौडाइ पनि बीस हात थियो । त्‍यसको भित्रपट्टि तिनले बीस टन निखुर सुनको जलप लगाए ।9 कीलाहरूको वजन पचास शेकेल सुन थियो । तिनले त्‍यसका माथिल्ला सतहमा पनि सुनको जलप लगाए ।10 तिनले महा-पवित्रस्थानको निम्ति दुई करूबहरूका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।12 अर्को करूबको एउटा पखेटा कोठाको भित्ता छुने गरी पाँच हातको थियो । त्‍यसको अर्को पखेटाचाहिँ पहिलो करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।13 यी करूबहरूका पखेटा बीस हातसम्म फिँजिएका थिए । करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्य सभा कोठातिर फर्केका थिए ।14 तिनले नीलो, बैजनी र रातो रङ्‌गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।15 सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भहरू बनाए, जसमा प्रत्‍येकको उचाइ पैँतीस हात थियो । तीमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अग्‍ला थिए ।16 तिनले स्तम्भका निम्ति सिक्रीहरू बनाए र ती स्तम्भका टुप्‍पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।17 तिनले मन्‍दिरको अगाडि ती दुई वटा स्तम्भहरू खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि खडा गरे । दाहिनेपट्टिको स्तम्भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्तम्भको नाउँ बोअज राखे ।