4
यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लम्बाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए । त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो । त्यो पाँच हात अग्लो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो ।3 खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू थिए, प्रत्येक हातमा दश वटा, त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातुमा ढालेर बनाइएको थियो ।4 ‘समुद्र’ नाम दिइएको त्यो ठूलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिँ भित्रपट्टि फर्केका थिए ।5 त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिट जस्तो, फक्रेको लिली फूल जस्तै थियो । त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो ।6 तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।8 तिनले दश वटा टेबिल बनाएर मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।9 यसको साथै तिनले पूजाहारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।10 ‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।11 हुरामले भाँडा, बेल्चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिध्याएः12 दुई वटा स्तम्भहरू, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिरहरू थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार जालीहरू बनाए ।13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू तिनले बनाएः स्तम्भहरूमाथि भएका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।14 तिनले गुड्ने आधारहरू र तिनमा राख्नलाई बाटाहरू पनि बनाए ।15 एउटा विशाल खँड्कुलो र त्यसको मुन्तिर बाह्र वटा साँढेहरू,16 साथै भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू पनि बनाए, र हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए ।17 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।18 यसरी सोलोमनले यी सबै भाँडा धेरै सङ्ख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भनेर जान्न सकिएन ।19 सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरूसमेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबिलहरू बनाए ।20 सामदानहरू तिनका बत्तीसहित, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू पनि निखुर सुनले बनाइएका थिए ।22 सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मन्दिरको मुख्य ढोकाहरू सुनले बनाइएका थिए ।