5
जब सोलोमनले परमप्रभुका मन्दिरको निम्ति गरेका सबै काम सिध्याए, तब तिनले आफ्ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात् सुन, चाँदी, र सबै सर-सामान ल्याए - तिनले ती परमप्रभुको मन्दिरका भण्डारहरूमा राखे ।2 त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला गराए ।3 इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।4 इस्राएलका सबै धर्म-गुरुहरू आए, र लेवीहरूले सन्दूक लगे ।5 तिनीहरूले सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै सामानहरू उठाएर माथि लगे । लेवीका कुलका पूजाहारीहरूले ती बोकेर माथि लगे ।6 सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ती भेडा र साँढेको बलिदान चढाउँदै सन्दूकको अगि भेला भए ।7 पूजाहारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे ।8 करूबहरूले आफ्ना पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्दूक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाके ।9 डन्डाहरूचाहिँ यति लामा थिए कि तिनका टुप्पाहरू भित्री पवित्रस्थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिँदैनथे । ती आजका दिनसम्म त्यहीँ छन् ।10 इस्राएलका मानिसहरूले मिश्र देश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको ठाउँ होरेबमा मोशाले सन्दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्यसमा अरू केही थिएन ।11 पूजाहारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए । त्यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्नो दलअनुसार क्रमबद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।12 सबै लेवी गायकहरू, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइहरूसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बीस जना तुरही बजाउने पूजाहारीहरू थिए ।13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक स्वर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्याली र अरू बाजाहरूसित स्वर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहिरहन्छ ।” तब त्यो मन्दिर, परमप्रभुको मन्दिर बादलले भरियो ।14 बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।