6
तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निस्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,2 तर यहाँ मैले तपाईंको निम्ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्थान बनाएको छु ।”3 त्‍यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।4 तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्नुभयो र आफ्ना हातले यसो भन्‍दै प्रतिज्ञा पूरा गर्नुभएको छ,5 ‘मेरो मानिसहरूलाई मिश्र देशबाट मैले बाहिर निकालेर ल्याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिसहरू इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनेँ ।6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्‍यहा रहोस्, र दाऊदलाई नै मेरो मानिसहरू इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’7 अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैँले असलै गरिस् ।9 तापनि तैँले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्‍यो मन्‍दिर बनाउनेछ ।’10 परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्ति मैले यो मन्‍दिर बनाएको छु ।11 परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”12 सोलोमन परमप्रभुका वेदीको सामु इस्राएलका जम्मै समुदायको उपस्थितिमा खडा भए र आफ्ना हात फैलाए ।13 किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएका थिए । तिनले त्‍यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्थितिमा घुँडा टेके, र तिनले आफ्ना हात स्वर्गतिर फैलाए ।14 तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईं जस्‍तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्ना सेवकहरूसँग आफ्नो अटुट प्रेमको करार बाँध्‍नुहुन्‍छ ।15 तपाईंले आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिँडेझैँ तेरा सन्‍तानहरू मेरो व्यवस्था पालन गर्ने कुरामा होशियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्ति मानिसको अभाव हुनेछैन ।’17 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस् ।18 तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्वीमा बस्‍नुहुन्‍छ र ? हेर्नुहोस्, सारा ब्रह्‌माण्‍ड र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने - मैले निर्माण गरेको यो मन्‍दिरमा त झन् कति साँघुरो हुन्‍छ होला ?19 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।20 यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस् ।21 यसैले आफ्ना सेवक र तपाईंका मानिसहरू इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस् । हो, त्‍यस ठाउँबाट, तपाईं बस्‍नुहुने स्वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस् ।22 कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,23 स्वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस् । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस् । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्‍यसलाई प्रतिफल दिनुहोस् ।24 जब तपाईंका मानिसहरू इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने -25 तब कृपया तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्ना मानिसहरू इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।26 जब तपाईंका मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको हुँदैन - अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दुःख दिनुभएको कारणले तपाईंको नाउँ स्वीकार गर्छन् र आफ्ना पाप त्‍यागेर यस मन्‍दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने -27 तब तपाईंले तिनीहरू हिँड्नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्वर्गमा सुन्‍नुहोस्, र आफ्ना सेवकहरू र आफ्ना मानिसहरू इस्राएलको पाप क्षमा गर्नुहोस् । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।28 मानिलिनुहोस् कि देशमा अनिकाल परेको छ वा मानिलिनुहोस् कि महामारी फैलेको छ, वा डढुवा वा ढुसी लागेको छ, वा सलह र फटेङ्‌ग्राहरू आउँछन्, वा मानिलिनुहोस् कि शत्रुहरूले तिनीहरूका सहरको मूल ढोकाहरूमा आक्रमण गर्छन् वा त्‍यहाँ कुनै पनि किसिमको विपत्ति वा रोग फैलेको छ -29 तब मानिलिनुहोस् कि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्ना हात फैलाउँछन् ।30 तब तपाईं बस्‍नुहुने स्वर्गबाट सुन्‍नुहोस् । क्षमा गर्नुहोस् र हरेक व्यक्तिलाई उसका सबै चालअनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्‍यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्‍छ ।31 यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून् जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिँड्‍न सकून् ।32 विदेशीहरू जो तपाईंका मानिसहरू इस्राएलको होइन तर तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,33 तब कृपया तपाईं बस्‍नुहुने स्वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंका मानिसहरू इस्राएलले गरेझैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्‍छ भनी तिनीहरूले जानून् ।34 मानिलिनुहोस् कि तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र मानिलिनुहोस् कि तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।35 तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् ।36 मानिलिनुहोस् कि तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन् - किनकि पाप नगर्ने एक जना पनि छैन - र मानिलिनुहोस् कि तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पिनुहुन्‍छ, जसका कारण शत्रुहरूले तिनीहरूलाई लैजान्‍छन् र तिनीहरूलाई आफ्नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।37 तब मानिलिनुहोस् कि तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र मानिलिनुहोस् कि तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । मानिलिनुहोस् कि तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट भएर काम गर्‍यौँ र पाप गर्‍यौँ । हामीले दुष्‍ट प्रवृत्तिले व्यवहार गर्‍यौँ ।’38 मानिलिनुहोस् कि तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र मानिलिनुहोस् कि तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।39 तब तपाईं बस्‍नुहुने स्वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसहरूलाई क्षमा गरिदिनुहोस् ।40 अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्ना आँखा खोल्नुहोस्, र आफ्ना कान थाप्‍नुहोस् ।41 हे परमप्रभु परमेश्‍वर, अब आफ्नो विश्रामको ठाउँमा उठ्नुहोस्, तपाईं र तपाईंका शक्तिको सन्‍दूक । हे परमप्रभु परमेश्‍वर, तपाईंका पूजाहारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन् ।42 हे परमप्रभु परमेश्‍वर, आफ्ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करारको बफादारीतालाई सम्झनुहोस् ।”