7
अब जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्वर्गबाट आगो तल झर्यो, र होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो ।2 परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको हुनाले पूजाहारीहरू मन्दिरभित्र पस्न सकेनन् ।3 आगो तल झरेको र परमप्रभुको महिमा मन्दिरमा भएको जब सबै इस्राएलीहरूले देखे, तब तिनीहरूले आफ्ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्टो पारे र आराधना गरे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहिरहन्छ ।”4 यसरी राजा र सबै मानिसहरूले परमप्रभुलाई बलिदानहरू चढाए ।5 सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरको समर्पण गरे ।6 पूजाहारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भए । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वसनीयता सदासर्वदा रहिरहन्छ ।” तिनीहरूका सामु सबै पूजाहारीहरूले आ-आफ्ना तुरहीहरू बजाए, र सारा इस्राएल खडा भयो ।7 सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई अलग गरे । त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन् ।8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएलीहरू, लेबो-हमातदेखि मिश्र देशको खोलासम्मको एउटा ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड मनाए ।9 आठौँ दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्म र चाड सात दिनसम्म मानेका थिए ।10 परमप्रभुले दाऊद र सोलोमन र आफ्ना मानिसहरू इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्दित हृदयहरूका साथ सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्ना घर पठाइदिए ।11 यसरी सोलोमनले परमप्रभुको मन्दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्दिर र तिनको आफ्नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।12 परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्दिरको रूपमा यो स्थानलाई मैले आफ्नो वासस्थानको निम्ति चुनेको छु ।13 मैले आकाशलाई बन्द गरेँ र पानी परेन भने, वा देशलाई नष्ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसहरूमाथि मैले विपत्ति पठाएँ भने,14 तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।15 यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् ।16 किनकि अब मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई अलग गरेको छु ताकि त्यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्टि र मेरो हृदय हरेक दिन त्यहाँ रहनेछ ।17 तेरो बारेमा चाहिँ, मैले तँलाई दिएका सबै आज्ञापालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्टिमा हिँडेझैँ हिँडिस् भने,18 तब तेरो राज्यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन ।’19 तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्यागिस् र तँ गएर अरू देवताहरूको पूजा गरिस् र तिनीहरूका सामु दण्डवत् गरिस् भने,20 तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसहरूका बीचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु ।21 अहिले यो मन्दिर ज्यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउने जाने हरेक मानिसले अवाक भएर सुस्केरा निकाल्नेछ । तिनीहरूले सोध्नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो गर्नुभयो ?’22 अरूहरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई त्यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्थापना गरे र तिनीहरूको सामु दण्डवत् गरे र तिनीहरूको पूजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो’ ।”