36
त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।2 यहोआहाजले राज्‍य सुरु गर्दा तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे ।3 मिश्र देशका राजाले तिनलाई यरूशलेममा हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।4 मिश्र देशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्र देशमा लगे ।5 यहोयाकीमले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरे ।6 त्‍यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।7 नबूकदनेसरले परमप्रभुको मन्‍दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।8 यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्‍यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।9 यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्‍यही गरे ।10 बसन्‍त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्‍दिरका मूल्यवान् सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्‍त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।11 सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्काईस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे ।12 तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्‍यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।13 परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले विद्रोह गरे । तर सिदकियाह परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्धमा तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्‍दिरलाई अपवित्र पारेर पूजाहारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्‍यन्‍तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्‍दिरलाई अपवित्र पारे ।15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिसहरू र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्‍जेल र सहायता आउने बाटो बन्‍द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्‍दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।18 परमेश्‍वरको मन्‍दिरका सानाठूला सबै भाँडाहरू र परमप्रभुको मन्‍दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।19 उनीहरूले परमप्रभुको मन्‍दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्‍यहाँ भएका सबै सुन्‍दर कुराहरू नष्‍ट गरे ।20 तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्‍जेल उनका र उनका छोराहरूका दास-दासी भए ।21 यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको विश्रामको आनन्‍द नलिउञ्‍जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नहोउञ्‍जेल र विश्रामको पूरा समय नकाटुञ्‍जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दै रह्यो ।22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्‍यभरि एउटा घोषणा निकाले र त्‍यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भनेः23 “फारसका राजा कोरेस यसो भन्‍छन्ः परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्‍य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसहरूमध्‍येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्‍यो आफ्नो देशमा यरूशलेममा जाओस् ।”