2
यी कुरापछि जब राजा अहासूरसको रीस मर्यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे । तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे ।2 तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।3 राजाले शूशनको किल्लाको स्त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्नुभएको होस् । तिनीहरूलाई स्त्रीहरूको निरीक्षक, राजाका अधिकारी, हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।4 राजालाई खुसी पार्ने युवतीचाहिँ वश्तीको सट्टामा रानी होऊन् ।” राजालाई यो सल्लाह मन पर्यो, र तिनले त्यसै गरे ।5 शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए ।6 तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।7 तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन् । यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्थिन् । मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए ।8 जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्त्रीहरूको निरीक्षक हेगेको हेरचाहमा राखिइन् ।9 यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविकाहरू तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्त्री-घरको सबै भन्दा राम्रो ठाउँमा सारे ।10 एस्तरको मानिसहरू र उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन्, किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए ।11 एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्न हरेक दिन मोर्दकै स्त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।12 स्त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै श्रृङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्याले बाह्र महिनासम्म सुन्दरतामा ध्यान दिएपछि - जब प्रत्येक स्त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो -13 जब कोही एक युवती राजाकहाँ जाँदा, स्त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्थ्यो, त्यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।14 साँझमा तिनी भित्र जान्थिन्, र भोलिपल्ट बिहान तिनी दोस्रो स्त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्नीहरूका निरीक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जाँदैनथिन् ।15 जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्त्रीहरूका निरीक्षक, राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्ने सबै जनाबाट उनले निगाह पाइन् ।16 अहासूरसको सातौँ वर्षको दशौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय वासस्थानमा लगियो ।17 राजाले अन्य कुनै स्त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटोमा उनलाई रानी बनाए ।18 राजाले आफ्ना सबै अधिकारीहरू र सेवकहरूलाई एउटा ठूलो भोज, “एस्तरको भोज” दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।19 अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।20 मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् । मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्तर मानिन् ।21 ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसलाई हानि गर्न खोजे ।22 मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।23 त्यो सूचनाको अनुसन्धान भयो र पुष्टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरालाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।