2
जातिहरूले किन कोलाहल मच्चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यन्त्र रच्छन् ? 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर शासकहरू यसो भनेर षड्यन्त्र रच्छन्, 3 "तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौँ र तिनीहरूका साङ्लाहरू फालौँ ।" 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । 5 तब उहाँ तिनीहरूसँग आफ्नो रीसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6 "मेरो पवित्र पर्वत सियोनमा म आफैले मेरो राजालाई अभिषेक गरेको छु ।" 7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्नुभयो, "तिमी मेरो पुत्र हौ ! आजको दिन म तिम्रो पिता भएको छु । 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु । 9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमालेको भाँडोझैँ तिमीले तिनीहरूलाई टुक्राटुक्रा पार्नेछौ ।" 10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ । 11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ । 12 पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किँदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।