2
हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,2 बुद्धिका कुराहरू सुन्न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,3 तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि स्वर उचालिस् भने,4 तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने,5 तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्वरको ज्ञान पाउने छस् ।6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।7 उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ । निष्ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।8 उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।9 तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्नेछस् ।10 किनकि बुद्धि तेरो हृदयमा आउनेछ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुनेछ ।11 विवेकले तँमाथि निगरानी गर्नेछ; समझशक्तिले तेरो रक्षा गर्नेछ ।12 तिनीहरूले तँलाई दुष्ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउनेछन् ।13 त्यस्ताहरूले ठीक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।14 तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्टका बदमासीहरूमा आनन्द मनाउँछन् ।15 तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।16 बुद्धि र विवेकले तँलाई व्यभिचारी स्त्री, र अनैतिक स्त्रीसाथै त्यसका चाप्लुसी वचनहरूबाट बचाउनेछ ।17 त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्वरको करारलाई भुल्छे ।18 किनकि त्यसको घरले मृत्युमा डोर्याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्याउनेछन् ।19 त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउनेछैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउनेछैनन् ।20 त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।21 किनकि ती ठीक गर्नेहरूले देशमा घर बनाउनेछन्, र निष्ठावान्हरू यसमा रहनेछन् ।22 तर दुष्टहरूचाहिँ देशबाट जरैदेखि उखेलिनेछन्, र विश्वासहीनहरू यसबाट मिल्काइनेछन् ।