3
हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।2 किनकि तिनले तेरो आयु लामो बनाउनेछन्, र शान्‍ति ल्याउनेछन् ।3 करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।4 तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।6 तेरा सबै मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।7 तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।8 यो तेरो शरीरको लागि चङ्‌गाइ हुनेछ, र तेरो देहको लागि ताजापन हुनेछ ।9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।10 तब तेरा भन्डार कोठाहरू भरिनेछन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिनेछन् ।11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्‍छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्‍छ, जस्‍तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।13 बुद्धि प्राप्त गर्ने धन्‍यको हो । त्‍यसले समझशक्ति पनि पाउँछ ।14 तैँले बुद्धिबाट प्राप्त गर्ने कुरो चाँदीबाट प्राप्त गर्ने कुरो भन्‍दा उत्तम हुन्‍छ, र त्‍यसको लाभ सुन भन्‍दा उत्तम हुन्‍छ ।15 बुद्धि गरगहना भन्‍दा बहुमूल्य हुन्‍छ, र तैँले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससित तुलना गर्न सकिँदैन ।16 बुद्धिको दाहिने हातमा दीर्घायु हुन्‍छ भने त्‍यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्‍छन् ।17 त्‍यसको मार्ग दयाको मार्ग हो, र त्‍यसका सबै बाटा शान्‍तिका छन् ।18 बुद्धिलाई पक्रनेहरूका लागि त्‍यो जीवनको रूख हो, र त्‍यसलाई समात्‍नेहरू खुसी हुन्‍छन् ।19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।21 हे मेरो छोरो, पक्का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।22 ती तेरो प्राणको निम्ति जीवन हुनेछन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुनेछन् ।23 तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्किनेछैन ।24 तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मीठो निद्रा लाग्‍नेछ ।25 दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।26 किनकि परमप्रभु तेरो पक्षमा हुनुहुनेछ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ ।27 तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्‍यसलाई नरोक् ।28 तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, "जाऊ, र फेरि आऊ अनि म भोलि दिनेछु ।29 तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।30 तँलाई कसैले हानि नपुर्‍याउँदा बिना कारण त्‍यससित तर्क-वितर्क नगर् ।31 हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्‍यसको कुनै पनि मार्गलाई नछान् ।32 किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्‍छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्‍छ ।33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।34 उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्‍छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्‍छ ।35 बुद्धिमान् मानिसहरू आदरको हकदार हुनेछन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्नेछन् ।