4
हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्‍यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।2 म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्‍याग ।3 म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्‍तान हुँदा,4 उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, "तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।5 बुद्धि र समझशक्ति प्राप्त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।6 बुद्धिलाई नत्‍याग् र त्‍यसले तेरो निगरानी गर्नेछ । त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँलाई सुरक्षा दिनेछ ।7 बुद्धि सबै भन्‍दा महत्त्वपूर्ण वस्तु हो । त्‍यसैले बुद्धि प्राप्त गर्, र समझशक्ति प्राप्त गर्न सबै मूल्य चुका ।8 बुद्धिलाई कदर गर्, र त्‍यसले तँलाई माथि उठाउनेछ । तैँले त्‍यसलाई अङ्‌गाल्दा त्‍यसले तेरो इज्‍जत गर्नेछ ।9 बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिनेछ । त्‍यसले तँलाई सुन्‍दर मुकुट दिनेछ ।10 हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्‍यान दे, अनि तेरो जीवनको आयु लामो हुनेछ ।11 म तँलाई बुद्धिको बाटोमा लैजान्‍छु । म तँलाई सीधा बाटाहरूमा अगुवाइ गर्छु ।12 तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुनेछैन, र तँ दौडिस् भने पनि ठक्कर खाने छैनस् ।13 निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।14 दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।15 त्‍यसलाई त्‍यागिदे; त्‍यसमा नहिँड् । त्‍यसबाट फर्केर अर्को बाटो लाग् ।16 किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्‍द्रै लाग्दैन ।17 किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्‍छन्, र हिंसाको मद्य पिउँछन् ।18 तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरण जस्‍तै हो । मध्‍यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्‍छ ।19 दुष्‍टहरूको मार्ग अन्धकार जस्‍तै छ । तिनीहरू केमा ठक्कर खान्‍छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।20 हे मेरो छोरो, मेरा वचनहरूलाई ध्‍यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप ।21 तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।22 किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पूरै शरीरको लागि स्वास्थ्य हो ।23 तेरो हृदयलाई सुरक्षित राख्, र पूरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्‍छन् ।24 कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् ।25 तेरा आँखाले सीधा अगाडि हेरून्, र तेरो अगिल्तिर सीधा एकटक लगाएर हेर् ।26 तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुनेछन् ।27 दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।