11
तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्‍यसलाई भेट्टाउने छस् ।2 त्‍यसलाई सात वा आठ जना मानिसहरूसित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।3 बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्‍छन्, र रूख उत्तर वा दक्षिणतिर ढल्यो भने त्‍यो जहाँसुकै ढले तापनि त्‍यो रहनेछ ।4 बतासलाई हेर्नेले बीउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।5 जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‌डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्‍यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्‍न सक्दैनस् ।6 बिहान तेरो बीउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्‍यो वा यो कुनचाहिँ बीउ उम्रन्‍छ वा दुवै राम्रा हुन्‍छन् भनी तँलाई थाहा छैन ।7 उज्‍यालो वास्तवमै रमणीय हुन्‍छ, र घामलाई देख्‍न पाउनु आँखाको लागि मनोहर कुरो हो ।8 कोही धेरै वर्षसम्म बाँच्‍यो भने त्‍यो ती सबै वर्ष प्रसन्‍न होस्, तर त्‍यसले आउनेवाला अन्धकारका दिनहरूको बारेमा सोचोस्, किनकि त्‍यस्ता दिनहरू धेरै हुनेछन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।9 हे जवान मानिस, तेरो युवावस्थामा आनन्‍द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्‍दित होस् । तेरो हृदय र तेरा आँखाले देख्‍न सक्‍ने असल इच्‍छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्‍वरले तँमाथि इन्साफ ल्याउनुहुनेछ भनी जान् ।10 तेरो हृदयबाट रीसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दुखाइलाई बेवास्ता गर्, किनकि युवावस्था र त्‍यसको शक्ति व्यर्थ हुन् ।