10
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्‍छन्, त्‍यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।2 बुद्धिमान् मानिसको मन ठीक कुरातिर लाग्छ, तर मूर्खको मन बेठीक कुरातिर लाग्छ ।3 मूर्ख सडकमा हिँड्दा त्‍यसको सोचाइ अपूर्ण हुन्‍छ जसले त्‍यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।4 तेरो विरुद्धमा शासकको रीस उठ्‌यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठूलो झोँकलाई पनि शान्‍त पार्न सक्छ ।5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः6 मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्‍छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्‍छ ।7 मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरू जस्‍तै गरी हिँडेको देखेको छु ।8 खाडल खन्‍ने कोही पनि त्‍यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्‍यसलाई डस्‍न सक्छ ।9 ढुङ्‌गा काट्नेलाई ढुङ्‌गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।10 बन्चरो बोधो छ र मानिसले त्‍यसलाई उध्‍याउँदैन भने त्‍यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।11 लट्ठ्‌याइनअघि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।12 बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्‍छन्, तर मूर्खको ओठले त्‍यो आफैलाई नष्‍ट पार्छ ।13 जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्‍यसै गरी मूर्खता बाहिर आउँछ, र अन्‍त्‍यमा त्‍यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्‍छ ।14 मूर्खले कुराहरू बढाउँछ, तर के हुनेछ भनी कसैलाई थाहा हुँदैन । त्‍यसको पछि के हुनेछ भनी कसैले जान्‍दैन ।15 मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।16 त्‍यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्‍यसका अगुवाहरू बिहानैदेखि उपवास बस्‍न थाल्छन् !17 तर त्‍यो देश धन्‍यको हो, जसको राजा कुलीनहरूको छोरो हो, र त्‍यसका अगुवाहरूले मात्‍नको लागि नभई शक्तिको लागि ठीक समयमा खान्‍छन् !18 अल्छेपनको कारण छाना भत्कन्‍छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्‍छ ।19 मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्‍द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पूरा गर्छ ।20 राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्‍ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्‌गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।