9
मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।2 सबैको अन्‍त्‍य उही किसिमको हुन्‍छ । धर्मी र दुष्‍ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्‍छ । जसरी असल मानिसहरू मर्छन्, त्‍यसै गरी पापीहरू मर्नेछन् । जसरी बाचा बाँध्‍ने मर्छ, त्‍यसै गरी शपथ खान डराउने मानिस पनि मर्नेछ ।3 सूर्यमुनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्‍छ । त्‍यसपछि तिनीहरू मरेकाहरूकहाँ जानेछन् ।4 सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्‍छ । मरेको सिंह भन्‍दा जिउँदो कुकुर असल हो ।5 किनकि बाँचेकाहरू मर्नेछन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरण शक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैनन् ।6 तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमुनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउनेछैनन् ।7 आफ्नो बाटो लाग्; आनन्‍द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पी, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍छ ।8 तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस् ।9 परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमुनि तेरो कामको लागि त्‍यो नै तेरो इनाम हो ।10 तेरो हातले जे काम पाउँछ, त्‍यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातालमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।11 मैले सूर्यमुनि केही रोचक कुराहरू देखेको छुः तीव्र गतिमा कुद्‌नेहरूले दौड जित्दैनन् । बलिया मानिसहरूले युद्ध जित्दैनन् । बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् । समझशक्ति भएका मानिसहरूले धन सम्पत्ति पाउँदैनन् । ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् । बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन् ।12 निश्‍चय नै त्‍यसको समय कहिले आउनेछ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्‌गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।13 मैले सूर्यमुनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।14 एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा त्‍यसको विरुद्धमा आएर त्‍यसलाई घेरा हाले र त्‍यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।15 अब त्‍यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्‍यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्‍यस गरिब मानिसलाई सम्झेन ।16 त्‍यसैले मैले निष्कर्ष निकालेँ, "शक्ति भन्‍दा बुद्धि उत्तम हो, तर त्‍यस गरिब मानिसको बुद्धिलाई तुच्‍छ ठानियो, र त्‍यसका वचनहरूलाई ध्‍यानै दिइएन ।17 मूर्खहरूका बीचमा भएको शासकको चर्को स्‍वर भन्‍दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्‍यान दिइन्‍छ ।18 युद्धका तरवारहरू भन्‍दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।