8
बुद्धिमान् मानिस को हो ? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र ? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।2 राजाको रक्षा गर्ने परमेश्वरको शपथको कारण तिनको आज्ञा मान्न म तँलाई सल्लाह दिन्छु ।3 तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।4 राजाको वचनले शासन गर्छ । त्यसैले कसले तिनलाई यसो भन्न सक्छ, "तपाईं के गर्दै हुनुहुन्छ ?5 राजाको आज्ञापालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।6 हरेक विषयको लागि ठीक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्टहरू धेरै छन् ।7 पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र ?8 सास नै रोक्न सक्ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्टताले यसका दासहरूलाई छुटकारा दिनेछैन ।9 मैले यी सबै बुझेको छु । सूर्यमुनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।10 यसरी दुष्टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।11 दुष्ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।12 पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुनेछ भनी मलाई थाहा छ ।13 तर दुष्ट मानिसको लागि राम्रो हुनेछैन । त्यसको आयु लामो हुनेछैन । त्यसले परमेश्वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छाया जस्तै हुन्छन् ।14 पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।15 त्यसैले म प्रसन्नताको सिफारिस गर्दछु, किनकि मानिसको लागि सूर्यमुनि खानु, पिउनु र खुसी हुनु भन्दा उत्तम कुरो छैन । सूर्यमुनि परमेश्वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभरि त्यसको परिश्रममा खुसी नै सँगसँगै जानेछ ।16 बुद्धिलाई जान्न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,17 मैले परमेश्वरका सबै कामलाई सोचविचार गरेँ, र सूर्यमुनि गरिएको कामलाई मानिसले बुझ्न नसक्ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउनेछैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।