7
महङ्गो अत्तर भन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिन भन्दा मृत्युको दिन राम्रो हुन्छ ।2 भोजको घरमा जानु भन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नै पर्छ ।3 हाँसो भन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्नता आउँछ ।4 बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।5 मूर्खहरूको गीत सुन्नु भन्दा बुद्धिमान्को हप्की सुन्नु उत्तम हो ।6 किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।7 करकापले निश्चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्ट पार्छ ।8 कुनै पनि कुरो सुरु भन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनु भन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ ।9 आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा वास गर्छ ।10 यसो नभन्, "यी भन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ ?" किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन ।11 पैतृक-सम्पत्ति जस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्नेहरूलाई लाभ दिन्छ ।12 किनकि रुपियाँ-पैसाले सुरक्षा दिए जस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ ।13 परमेश्वरका कामहरूलाई विचार गर्ः उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सीधा पार्न सक्छ ?14 समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्ः परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउनेछैन ।15 मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुद पनि तिनीहरू नष्ट हुन्छन्, र दुष्टहरूको दुष्टताको बाबजुद पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।16 स्वधर्मी नबन्; तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्ट गर्छस् ?17 ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअघि नै तँ किन मर्छस् ?18 यो बुद्धिलाई पक्रेर राख्नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्वरको भय मान्ने मानिसले त्यसका सबै कर्तव्य पूरा गर्नेछ ।19 कुनै सहरमा भएको दश जना शासक भन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।20 पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।21 बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् ।22 त्यसै गरी, तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा छ ।23 मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, "म बुद्धिमान् बन्नेछु", तर यो मैले सक्ने भन्दा परको कुरो थियो ।24 बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र ?25 बुद्धि र वास्तविकताको विषयमा सिक्न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।26 पासो र जालहरूले भरिएकी कुनै पनि स्त्रीको मृत्यु भन्दा त्योचाहिँ बढी तीतो भएको मैले पाएँ । परमेश्वरलाई खुसी पार्ने जो कोही त्यस स्त्रीबाट भाग्नेछ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।27 "मैले जे पत्ता लगाएको छु, त्यसलाई विचार गर्", उपदेशक भन्छन् । "वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु ।28 मैले अझै पनि यसको खोजी गर्दै छु, तर मैले यसलाई भेट्टाएको छैनँ । मैले एक हजार पुरुषका बीचमा एउटा धर्मी मानिस भेट्टाएँ, तर स्त्रीहरूका बीचमा एउटै पनि भेट्टाइनँ ।29 मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्वरले मानव-जातिलाई सोझो सृष्टि गर्नुभयो, तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन् ।"