2
प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फूल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः2 काँढाहरूका बीचमा फुलेको लिली फूलझैँ मेरी प्रिय युवतीहरूका बीचमा छिन् । प्रेमिका आफैसित बोल्दैः3 जङ्गलका रूखहरूमध्ये स्याउको रूखझैँ मेरा प्रेमी युवाहरूका बीचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मीठो लाग्छ ।4 उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः5 मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः6 उहाँको देब्रे हात मुरो शिरमुनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्त्रीहरूसित बोल्दैः7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित बाचा बाँध्छु कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः8 मेरा प्रेमीको स्वर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ ।9 मेरा प्रेमी हरिण वा जवान मृग जस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ ।10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्नुभयो, "हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो ।12 पृथ्वीमा फूलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको स्वर सुनिएको छ ।13 अञ्जीरका बोटमा अञ्जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ ।14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्त चिराहरूमा बस्ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो स्वर सुन्न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।" प्रेमिका प्रेमीसित बोल्दैः15 हाम्रा लागि फ्याउराहरू समात्नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ ।16 मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ । उहाँ प्रसन्न हुँदै लिली फूलहरूका बीचमा घुमेर हिँड्नुहुन्छ । प्रेमिका प्रेमीसित बोल्दैः17 हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअघि र छाया भाग्नुअघि नै जानुहोस्, गइहाल्नुहोस् । भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस् ।