8
प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजु जस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्ने थिएँ, र कसैले मलाई तुच्छ ठान्ने थिएन ।2 मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजाने थिएँ, जसले मलाई सिकाउनुभयो । मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिने थिएँ । प्रेमिका आफूसित बोल्दैः3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अरू स्त्रीहरूसित बोल्दैः4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले बाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रिती खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू । यरूशलेमका स्त्रीहरू बोल्दैः5 आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो ? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रूखमुनि ब्युँझाएँ । त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो । त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो ।6 मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छाप जस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्यु जत्तिकै प्रबल हुन्छ । जोसिलो भक्ति पाताल जत्तिकै निष्ठुर हुन्छ । यसको ज्वाला दन्कन्छ । यो दन्कने आगो हो । यो कुनै पनि आगो भन्दा तातो हुन्छ ।7 उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन, न त बाढीले यसलाई बगाउन सक्छ । कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो । प्रेमिकाका दाजुहरू आफ्नै बीचमा बोल्दैः8 हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन् । हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ ?9 उनी पर्खाल भइदिएको भए, हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउने थियौँ । उनी ढोका भइदिएको भए, हामी उनलाई देवदारुका फल्याकहरूले सजाउने थियौँ । प्रेमिका आफूसित बोल्दैः10 म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरा जस्तै छन् । त्यसैले म उहाँको दृष्टिमा सन्तुष्टि ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो । त्यसको रेखदेख गर्न सक्नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो । हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्का ल्याउनुपर्थ्यो ।12 मेरो आफ्नै दाखबारी मेरै सामु छ । हे सोलोमन, ती एक हजार सिक्का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्का यसको फलफुल हुर्काउनेका निम्ति हुन् । प्रेमी प्रेमिकासित बोल्दैः13 तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो स्वर सुन्दै छन् । मैले पनि सुन्न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः14 हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्ने हरिण वा जवान मृग जस्तै हुनुहोस् ।