2
आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।2 अन्तका दिनहरूमा यस्तो हुनेछ कि परमप्रभुको मन्दिरको पर्वतलाई सबै भन्दा उच्च पर्वतहरूझैँ स्थापित गरिनेछ, र डाँडाहरू भन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।3 धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔँ, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ ।” किनकि सियोनबाट नै व्यवस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।4 उहाँले जातिहरूका बीचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।5 ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिँडौँ ।6 किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्नुभएको छ, किनभने तिनीहरू पूर्वका प्रचलनले भरिएका छन् र पलिश्तीहरूले झैँ तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।7 तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पूर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।8 तिनीहरूको देश मूर्तिहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्नै औँलाहरूले बनाएका कुराहरूको पूजा गर्छन् ।9 मानिहरूलाई झुकाइनेछ र व्यक्तिहरू घोप्टिनेछन् । त्यसकारण तिनीहरूलाई नउठाउनुहोस् ।10 चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।11 मानिसहरूको अहंकारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।12 किनकि घमण्ड गर्ने र उच्च पारिएका हरेकको विरुद्धमा, र हरेक अहंकारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ - र त्यसलाई तल झारिनेछ -13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुहरूका विरुद्धमा, र बाशानका सबै फँलाटहरूका विरुद्धमा हुनेछ ।14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाहरूका विरुद्धमा,15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्नै नसक्ने हरेक पर्खालका विरुद्धमा,16 र तर्शीशका सबै पानी जहाजहरूका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।17 मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्च पारिनुहुनेछ ।18 मूर्तिहरू पूर्ण रूपमा बितेर जानेछन् ।19 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्रनेछन् ।20 त्यस दिन मानिसहरूले सुन र चाँदीका आफ्ना मूर्तिहरू फाल्नेछन्, जसको पूजा गर्न तिनीहरू आफैले बनाएका छन् - ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् ।21 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्रनेछन् ।22 मानिसको भरोसा गर्न छोड, जसको जीवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र ?