3
"कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्‍छेद गर्‍यो, र उसको जीवनबाट त्‍यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्‍यसकहाँ जान्‍छ र ? के त्‍यो पूर्ण रूपमा अशुद्ध हुँदिन र ?" त्‍यो स्‍त्री यही देश हो ! तँ धेरै प्रेमी भएकी वेश्या जस्‍तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्‍छेस् ? यो परमप्रभुको घोषणा हो ।2 नाङ्‌गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौन धन्‍दा छैन ? एक जना अरबी उजाड-स्थानमा बसेझैँ तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैँले देशलाई दूषित पारेको छेस् ।3 त्‍यसैले वर्षा थामिएको छ, र वसन्‍त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।4 के भर्खरै मात्र तैँले मलाई पुकारिनस्, "हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्‍ठ मित्र ।5 के उहाँ सधैँ रिसाउनुहुन्‍छ र ? के उहाँले आफ्नो क्रोधलाई सधैँ अन्‍त्‍यसम्म राख्‍नुहन्‍छ र ?" हेर् ! तैँले यसरी भनेको छेस्, तर तैँले त सके जति दुष्‍ट काम गर्छेस् ।6 तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, "विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस् ? त्‍यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएकी छे, र त्‍यहाँ त्‍यसले वेश्याले झैँ काम गरेकी छे ।7 मैले भनेँ, 'यी सबै कुरा गरेपछि त्‍यो मकहाँ फर्कन्‍छे', तर त्‍यो फर्किन । तब त्‍यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।8 त्‍यसैले मैले देखेँ, त्‍यसरी नै त्‍यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्‍यसलाई निकालेको छु, र त्‍यसको विरुद्धमा त्‍यागपत्र दिएको छु । त्‍यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्‍यो पनि गई र वेश्याले झैँ काम गरी ।9 त्‍यसको वेश्यावृत्ति त्‍यसको लागि केही जस्‍तो भएन । त्‍यसले देशलाई दूषित पारी, र त्‍यसले ढुङ्‌गा र रूखहरूसित व्यभिचार गरी ।10 यी सबै कुरापछि त्‍यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की", यो परमप्रभुको घोषणा हो ।11 तब परमप्रभुले मलाई भन्‍नुभयो, "विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदा भन्‍दा बढी धर्मी भएको छ ।12 जा र उत्तरलाई यी वचन घोषणा गर्, 'हे विश्‍वासहीन इस्राएल, फर्की', यो परमप्रभु घोषणा हो, 'म तँसित सधैँ रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्‍छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैँले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रूखमुनि तैँले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैँले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।14 'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।15 मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्‍तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।16 तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ । तिनीहरूले फेरि यसो भन्‍नेछैनन्, 'परमप्रभुको करारको सन्‍दूक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्‍नेछैन र अर्को बनाइनेछैन ।’17 त्‍यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्नेछन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू आफ्‍ना दुष्‍ट हृदयको हठमा हिँड्नेछैनन् ।18 ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिँड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।19 मेरो बारेमा मैले भनेँ, मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्‍छु । यो पैतृक-सम्पत्ति अन्‍य कुनै पनि जातिसित भएको भन्‍दा सुन्‍दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई "हे मेरा पिता" भनी बोलाउनेछौ ।' तिमीहरू मलाई पछ्याउनदेखि तर्कने थिएनौ भनी मैले भन्‍ने थिएँ ।20 तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैँ, ए इस्राएलका घराना हो, तैँले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।21 मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्‍याहटको एउटा आवाज सुनिन्‍छ । किनकि तिनीहरूले आफ्ना मार्ग बदलेका छन् । तिनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई बिर्सेका छन् ।22 हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु । हेर्नुहोस् ! हामी तपाईंकहाँ फर्कनेछौँ किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ ।23 निश्‍चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वर इस्राएलको उद्धार हुनुहुन्‍छ ।24 तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराहरू र छोरीहरूलाई भस्म पारेका छन् ।25 हामी लाजमा पल्टौँ । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौँ । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौँ !"