4
यो परमप्रभुको घोषणा हो, "ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैँले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,2 'परमप्रभुको नाउँमा' भनेर तैँले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ । तब जाति-जातिहरू उहाँमा आशिषित् हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बीचमा बीउ नछर ।'4 हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्टताको कारणले कसैले निभाउन नसक्ने गरी मेरो क्रोध बल्नेछ र दन्कनेछ ।5 यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔँ ।'6 सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औँल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठूलो विनाश र विपत्ति ल्याउँदै छु ।7 आफ्नो झाडिबाट सिंह बाहिर आउँदै छ, र जाति-जातिहरूलाई नष्ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्ने गरी भग्नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।8 यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रीसको शक्ति हामीबाट तर्केर गएको छैन ।9 यो परमप्रभुको घोषणा हो, "त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।10 त्यसैले मैले भनेँ, "हाय, परमप्रभु परमेश्वर । तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्चय नै तपाईंले यी मानिसहरू र यरूशलेमलाई पूर्णतया धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दै छ ।"11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, "मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्ने वा शुद्ध पार्नेछैन ।12 मेरो आज्ञामा त्यस भन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधी जस्ता छन् । उहाँका घोडाहरू गरुडहरू भन्दा छिटो कुद्छन् । हामीलाई धिक्कार छ, किनकि हामी सर्वनाश हुनेछौँ ।14 ए यरूशलेम, दुष्टताबाट आफ्नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्न सक्छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्ने विषयमा हुनेछ ?15 दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिँदैछ ।16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्ला मच्चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सूचना गर् ।17 तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्नेहरू जस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो ।18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।19 ए मेरो हृदय, मेरो हृदय ! म आफ्नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चूप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।20 विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्ट पारिए ।21 मैले कहिलेसम्म शत्रुको युद्धको झन्डा हेर्ने ? के मैले तुरहीको आवाजलाई सुन्नेछु ?22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्ट्याइँको सीप छ, तर भलाइ गर्न जान्दैनन् ।23 मैले देशलाई हेरेँ। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।24 मैले पर्वतहरूलाई हेरेँ । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।25 मैले हेरेँ । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।26 मैले हेरेँ । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।27 परमप्रभु यसो भन्नुहुन्छ, "सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्ट पार्दिनँ ।28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्नँ ।29 घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिनेछन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।30 अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस् ? तैँले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजलले ठूला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।31 त्यसैले म पीडाको आवाज, पहिलो बच्चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्याहट सुन्दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्कार छ ! यी हत्याराहरूको कारणले गर्दा म मूर्च्छा परिरहेकी छु' ।"