5
"यरूशलेमका सडकहरूबाट छिटो जा । त्‍यसका चोकहरूमा पनि खोजी गर् । त्‍यसपछि हेर अनि यस कुरा बारेमा विचार गर्ः न्‍यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्‍ने कुनै मानिस तैँले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु ।2 तिनीहरू भन्‍छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।3 हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र ? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पीडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टान भन्‍दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।4 त्‍यसैले मैले भनेँ, "निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्‍दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्‍दछन् ।5 म ठूला मानिसहरूकहाँ जानेछु, र तिनीहरूलाई परमेश्‍वरको सन्‍देश घोषणा गर्नेछु, किनकि कमसेकम आफ्ना परमेश्‍वरका मार्ग, परमेश्‍वरका आज्ञाहरू तिनीहरूले त जान्‍दछन् ।" तर तिनीहरू सबैले आफ्ना जुवा सँगसँगै भाँचे । तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले ।6 त्‍यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।7 यी मानिसहरूलाई मैले किन क्षमा दिने ? तिमीहरूका छोराहरूले मलाई त्‍यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्‍छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठूलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।8 तिनीहरू कामवासनाले मस्त घोडाहरू जस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्‍येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो ।9 त्‍यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र ?10 त्‍यसका दाखबारीका गह्राहरूमा जा र नष्‍ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर् । तिनका हाँगाहरू छिँवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।11 किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएका छन्, यो परमप्रभुको घोषणा हो ।12 तिनीहरूले परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, "उहाँले केही गर्नुहुनेछैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍नेछैनौँ ।13 अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्‍यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।14 त्‍यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैँले यसो भनेको हुनाले हेर्, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगो जस्‍तो हुनेछ, र यी मानिसहरू दाउरा जस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्नेछ ।15 हेर् ! ए इस्राएलको घराना हो, मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु, यो परमप्रभुको घोषणा हो, यो एउटा दिगो र प्राचीन जाति हो । यो एउटा त्‍यस्तो जाति हो जसको भाषा तैँले जान्‍दैनस्, न त तिनीहरूले के भन्‍छन् त्‍यो तैँले बुझ्‍नेछस् ।16 तिनीहरूका वाणका ठोक्राहरू खुला चिहान जस्‍तै छन् । तिनीहरू सबै सिपाहीहरू हुन् ।17 त्‍यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरीहरू अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्‍जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।18 तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्‍छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।19 जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको ?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, "जसरी तिमीहरूले परमप्रभुलाई त्‍याग्यौ र आफ्नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्‍यसरी नै तिमीहरूले पनि विदेशमा विदेशीहरूको सेवा गर्नुपर्नेछ ।"20 याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,21 "हे समझ नभएका मूर्ख मानिसहरू हो, यो कुरा सुन । तिमीहरूका आँखा छन्, तर देख्‍न सक्दैनौ, कान छन्, तर सुन्‍न सक्दैनौ ।22 मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्किने स्थायी, निरन्‍तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्‍यसले अझै भत्काउनेछैन । यसका तरङ्‌गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।23 तर यी मानिसहरूको हठी हृदय छ । यो विद्रोहमा बरालिन्‍छ र टाढा जान्‍छ ।24 किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्‍दैनन्, "हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौँ जसले वर्षा ल्याउनुहुन्‍छ, हामीले खेती गर्नुपर्ने हप्ताहरूमा, ठीक समयमा अघिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ ।25 तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ ।26 किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिसहरू चरा समाउनलाई चूप बसेझैँ तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्छन् र मानिसहरूलाई समात्छन् ।27 चराहरूले भरिएका पिँजडा जस्‍तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्‍यसैले तिनीहरू ठूला र धनी भएका छन् ।28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुशल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्‍ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्‍याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।29 के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त ? यो परमप्रभुको घोषणा हो ।30 यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् ।31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पूजाहारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्‍त्‍यमा के हुने छ ?