6
हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्टता देखा पर्दैछ। एउटा ठूलो मिचाहा आउँदैछ ।2 सियोनकी सुन्दरी र कोमल छोरी नष्ट पारिन्छे ।3 गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।4 "युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौँ । दिन ढल्कँदै जानु र बेलुकीको छाँया पर्दै जानु धेरै नराम्रो कुरा हो ।5 तरै पनि हामी रातमा आक्रमण गरौँ र त्यसको किल्लालाई नष्ट पारौँ ।6 किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "त्यसका रूखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठीक सहर हो, किनकि यो अत्याचारले भरिएको छ ।7 जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्तर दुष्टता उत्पादन गर्छ । त्यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।8 ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्ने उजाड देश बनाउनेछु ।9 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "निश्चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैँ इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् । दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार् ।10 म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून् ? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्छा गर्दैनन् ।11 तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्नुभयो, "सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्नीसँगै, अनि कान नसुन्ने हरेक बुढा मानिसलाई लगिनेछ ।12 तिनीहरूका घरहरू, खेतहरू र पत्नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।13 सानादेखि ठूलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पूजाहारीसम्म सबैले छलको अभ्यास गर्छन् ।14 शान्ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।15 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्जित भए ? तिनीहरू लज्जित भएनन् । तिनीहरूलाई शर्म मान्न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बीचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिँदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्नुहुन्छ ।16 परमप्रभु यसो भन्नुहुन्छ, "दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरूको बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ ?' तब त्यसैमा हिँड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जानेछैनौँ ।'17 तुरहीको आवाज सुन्न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरेँ । तर तिनीहरूले भने, 'हामी सुन्नेछैनौँ ।'18 त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुनेछ सो हेर ।19 हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।20 मेरो लागि शेबाबाट माथि गएको यस धूपको अर्थ के हो ? वा टाढाको देशबाट आएका यी सुगन्धहरूको ? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।21 त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, "हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्ने अवरोध राख्न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्यसमाथि ठक्कर खानेछन् । बासिन्दाहरू र तिनीहरूका छिमेकीहरू पनि नष्ट हुनेछन् ।22 परमप्रभु यसो भन्नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ ।23 तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रूर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जन जस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरू जस्तै अगाडि बढ्छन् ।24 हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौँ, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिँदा स्त्रीलाई भएझैँ सङ्कष्टले हामीलाई समात्छ ।25 बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिँड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।26 हे मेरा मानिसहरूकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैँ सुँकसुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।27 "हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्ने जस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु ।28 तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्वाइँ गर्दै यताउता जान्छन् । तिनीहरू सबै भ्रष्टतापूर्वक काम गर्ने काँसा र फलाम हुन् ।29 आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ । आगोको रापमा फलाम पग्लन्छ । तिनीहरूका बीचमा प्रशोधन जारी छ, तर यो अर्थहीन छ, किनकि दुष्ट्याइँलाई हटाइएको छैन ।30 तिनीहरू 'नकारिएको चाँदी' भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ !"