7
परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,2 "परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।3 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर ! परमप्रभुको मन्दिर ! परमप्रभुको मन्दिर !'5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बीचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,6 तिमीहरूले देशमा बस्ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्याउन अरू देवताहरूको पछि लागेनौ भने,7 म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।8 हेर ! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूलाई मदत गर्दैनन् ।9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ ? के तिमीहरू छलपूर्वक शपथ खान्छौ अनि बाल देवतालाई धूप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ ?10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्दिरमा मेरो सामु खडा हुन्छौ र यसो भन्छौ, "हामी बचाइएका छौँ", ताकि तिमीहरू यी सबै घृणित कामहरू गर्न सक ?11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्टिमा डाँकूहरूको ओडार होइन र ? तर हेर, मैले यो देखेको छु', यो परमप्रभुको घोषणा हो ।12 त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्टताको कारणले मैले यसलाई के गरेँ त्यो हेर ।13 त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ ।14 त्यसकारण मैले शीलोलाई जे गरेँ, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।15 जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।"16 "ए यर्मिया, तैँलेचाहिँ यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।17 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस् ?18 छोराछोरीहरूले दाउरा बटुल्दै छन्, र बुबाहरू आगो बाल्दै छन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्त्रीहरू पीठो मुछ्दै छन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदै छन् ।19 के तिनीहरूले साँच्चै मलाई चिढ्याउँदै छन् त ? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र ?20 त्यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, खेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रीस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।21 इस्राएलका सर्वशक्तिमान् परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।22 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्र देशबाट ल्याउँदा तीमध्ये कुनै कुरा पनि मैले इच्छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।23 मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, "मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिँड ।"24 तर तिनीहरूले सुनेनन्, नता ध्यान नै दिए । तिनीहरू आफ्ना दुष्ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।25 तिमीहरूका पुर्खाहरू मिश्र देशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।26 तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्ना पुर्खाहरू भन्दा तिनीहरू अझै दुष्ट भए ।27 त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।28 तिनीहरूलाई यसो भन्, "यो परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुन्ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।29 आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्यु संस्कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्नुभएको छ ।30 किनकि यहूदाका छोराहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्यसमा घृणित कुराहरू राखेका छन् ।31 अनि बेन-हिन्नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आगोमा जलाउन त्यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।32 यसैले हेर, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्यसबेला त्यो फेरि तोपेत वा बेन-हिन्नोमको बेँसी भनिनेछैन । त्यो हत्याको बेँसी भनिनेछ । तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन् ।33 यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।34 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको स्वरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।"